३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्ने शिक्षकशिक्षिकाको तलब रोक्का हुने

२७ चैत, स्याङजा । स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा नगरपालिकाले तलब रोक्का गर्ने निर्णय गरेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिकाले उक्त नियम बनाएको हो । आइतबार बसेको नगर शिक्षा समितिको निर्णयअनुसार विशेष गरी सरकारी विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमै भर्ना गर्नुपर्ने नियम पारित गरेको हो ।

आफूले सरकारी नुनपानी खाने तर आफ्ना बालबालिका निजी विद्यालयमा पढाउने गर्नाले शिक्षाको गुणस्तरमा कमी आएको महसुस गरी यस्तो निर्णय गरिएको नगर प्रमुख शिवकुमार गिरीले बताए ।

नगरपालिकाले पारित गरेको यो नीति आगामी शैक्षिक सत्र २०७५ बाट लागू हुने चापाकोट नगरपालिकाले जनाएको छ । शिक्षकले आफ्ना बालबालिका आफैँ अध्यापनरत विद्यालयमा भर्ना गर्दा सन्देश राम्रो जाने र अन्य अभिभावकलाई पनि सरकारी विद्यालयतर्फ विद्यार्थी आकर्षित गर्न सहज हुने नगर प्रमुख गिरीले बताए ।

सरकारी विद्यालयमा पछिल्लो समय विद्यार्थीको संख्या घट्दै गइरहेका बेला नगरपालिकाले सरकारी विद्यालयमा विद्यार्थी भर्ना अभियानका लागि प्रोत्साहन पुग्ने खालका विभिन्न नयाँ कार्यक्रम पनि ल्याउने तयारी गरेको छ ।

नगरपालिकाले चालेको यो अभियान पहिलो चरणमा विशेष गरी सरकारी शिक्षक र क्रमशः सरकारी निकायका अन्य कर्मचारीमा पनि लागू गर्ने नगर प्रमुख गिरीको भनाइ छ ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०८:५०