१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

घरेलु तथा साना उद्योग व्यवसायीलाई ८० प्रतिशत अनुदानमा औद्योगिक उपकरण प्रदान


२७ चैत, डोटी । डोटीमा व्यवसाय गर्दै आएका घरेलु तथा साना उद्योगी व्यवसायीलाइ ८० प्रतिशत अनुदानमा औद्योगिक उपकरण प्रदान गरिएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिको चालू आर्थिक वर्ष २०७४/०७५ को वार्षिक कार्यक्रम अनुसार घरेलु तथा साना उद्योगलाई प्रविधि सहयोग कार्यक्रमअन्तर्गत छनोटमा परेका ४९ व्यवसायीलाई सोमबार एक कार्यक्रमका बीच उक्त अनुदान वितरण गरिएको हो ।

प्रविधि सहयोग कार्यक्रमका लागि चालू आवमा रु २३ लाख २५ हजार रकम छुट्याइएको थियो । जसमा पाँच प्रतिशत ढुवानीमा खर्च गरेर बाँकी रु २२ लाख तीन हजारको लघु घरेलु तथा साना उद्योगका लागि आवश्यकताअनुसार मेशिनरी औजार, कम्प्युटर आदि प्रविधि खरिद गरेर वितरण गरिएको घरेलु तथा साना उद्योग विकास समिति डोटीका निर्देशक माधव सुवेदीले बताए ।

घरेलुले अनुदानमा होटेल, रेष्टुराँ, पोल्टी फर्म, फुडप्रोडक्सन, सिमेण्ट ब्लक उद्योग, पसल, फर्निचर उद्योग, कुटानीपिसानी मिल, डेरी उद्योग, सिलाइ सेण्टर, मैनबत्ती उद्योग, छाला जुत्ता उद्योग, एग्रो प्रोडक्सन प्रालि, सप्लार्र्यस, अटो वर्कसप, बाख्रापालन फर्म, कम्प्यूटर एजुकेसन, इन्सच्यूट, तरकारी उत्पादन व्यवसाय, आरन उद्योग, मासु पसल, अगरबत्ती उद्योगलगायतका लघु घरेलु तथा साना उद्योगलाई आवश्यकताअनुसारको औद्योगिक उपकरण प्रदान गरेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०७:४०