११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

कम उमेर समूहका बालबालिकामा समेत लिभर सिरोसिस, किन दिएन सरकारले चासो ?

२२ जेठ, काठमाडौँ ।  वातावरण प्रदूषण, खानपान तथा जथाभावी जाँडरक्सी सेवनले व्यक्तिमा कलेजोसम्बन्धी जटिल रोग ‘लिभर सिरोसिस’ लाग्ने गरेको पाइएको छ । तर, यसबारे सरकारले सर्वसाधारणलाई पर्याप्त जानकारी दिन नसकेको चिकित्सकले बताएका छन् । नेपालमा कलेजोसम्बन्धी रोग हेपाटाइटिस बी र सी लागेका बिरामी मात्र साढे १ प्रतिशत अर्थात् ४ लाख हाराहारीमा रहेका अध्ययनले देखाएको छ । त्यस्ता रोग लाग्न नदिन खानपान तथा रहनसहनमा विचार पु¥याउन चिकित्सकले सुझाएका छन् ।

रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु उत्तम विकल्प मानिन्छ । तर, गरिबी, अशिक्षा तथा खानपानमा ध्यान दिन नसक्दा मानिसमा कलेजोको कडापन सम्बन्धी जटिल समस्या ‘लिभर सिरोसिस’ हुने गरेको बताउँछन् चिकित्सकहरू । त्यसबाहेक फ्याटी लिभर अर्थात् बोसोयुक्त कलेजो, कमलपित्त, हेपाटाइटीस बी, सी र ई भएका मानिसले नियमित रक्सी सेवन गरेमा कम्तिमा छ महिनाभित्रै लिभर सिरोसिस हुन्छ भन्छन् ‘लिभर फाउन्डेसन नेपालका डा. सन्तोषमान श्रेष्ठ । उनका अनुसार कम गुणस्तरको खानपानले तराईमा यस्ता बिरामीको संख्या बढी पाइन्छ । त्यसपछि उच्च पहाडी भूभाग हाइ माउन्टेनमा हेपाटाइटिस बी प्लस इन्फेक्सन हुने गरेको पाइएको छ । नेपालमा कलेजोसम्बन्धी रोगका बारेमा सरकारले खासै ध्यान दिन सकेको छैन ।

डा. श्रेष्ठका अनुसार युरोप, अमेरिकातिर उमेरले पचास नाघेका मानिसमा ‘लिभर सिरोसिस’ भएको पाइन्छ । तर, नेपालमा कम उमेरका बालबालिकामा पनि लिभर सिरोसिस देखिएको उनले बताए । पानीमा भएको सुक्ष्म जीवाणुले कलेजोमा इन्फेक्सन पु¥याउँदा यो रोग लागेको देखिन्छ ।

डा. श्रेष्ठ भन्छन्, ‘पानीमा हुने प्रदूषण, बिग्रँदो वातावरण र ब्याक्ट्रेरियल इन्फेक्सनले लिभर पछाडिको भेन साँगुरो भएर जान्छ । त्यो साँघुरो भए पनि हरेक ठाउँमा इन्फेक्सन भएपछि त्यो ठाँउमा र लिभरभित्र रगत जम्न थाल्छ र लिभरको भेनहरू बल्क हुन थाल्छन । त्यो ब्लक भएको वरिपरिको लिभरको सेल मर्दै जान्छ अनि विस्तारै सिरोसिस हुन्छ ।’

कम उमेर समूहका बालबालिकामा लिभर सिरोसिस देखिँदा समेत देशभर यस्ता रोग लागेका बालबालिको यकिन तथ्यांक छैन । तर, वीर अस्पतालको तथ्यांकलाई हर्ने हो भने गत वर्ष साढे ३ हजारभन्दा बढी कलेजोको बिमारी उपचारका लागि आएका देखिन्छन् । वीर अस्पताल लिभर युनिटका प्रमुख प्राध्यापक डा. अनिलकुमार मिश्र अनुसार एक ताका वीर अस्पतालमा औसत १ जना बिरामीको प्रति हप्ता युवाअवस्थामैे मृत्यु हुन्थ्यो । अहिले नयाँ औषधि उपचारको कारणले गर्दा धेरै हदसम्म नियन्त्रण भइसकेको छ ।

तर, भारतको तुलनामा नेपालमा बढी लिभर सिरोसिसका बिरामी भएको डा. श्रेष्ठले बताउँछन् । यो रोगको रोगथाम धेरै सस्तो छ । तर, खाली जनतामा जागरुकता ल्याउन सक्नुपर्ने उनको धारणा छ । त्यसपछि खानपान तथा सफाइमा ध्यान दिँदा रोगबाट बच्न सकिन्छ । यदि तुरुन्तै इन्फेक्सन भएमा उपचार ग¥यो भने रोगबाट बच्न सकिन्छ र, रोग भएका मानिसमा पनि त्यो सिरोसिस भएको चीजबाट रोकथाम गर्न सकिन्छ ।

त्यस्तै, रोग न्युनीकरणका लागि सरकारले कार्ययोजना बनाई सर्वसाधारणलाई सूसुचित गराउनुपर्ने डा. मिश्रले बताए । मिश्र भन्छन्, ‘जाँड–रक्सी खाएर अथवा अन्य कारणले गर्दा कलेजो बिग्रेर सिरोसिस हुनसक्छ भन्ने जानकारी जनस्वास्थ्य कार्यक्रममा समेटिनुपर्छ । दूषित पानी सेवन, जाँड–रक्सी, लागूऔषध, अल्छीपना तथा चिल्ला खानेकुरा सेवनले कलेजोमा समस्या देखिने हुँदा वर्षको दुईपटक कलेजोमा रोग लागे–नलागेकोबारे जाँच गराउन तथा खानपानमा विशेष ध्यान दिन चिकित्सकले सुझाएका छन् ।

दैनिकी डट कम र रिभोसाइन्स डट कमको सहकार्य ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार १२:३३