२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

पार्टी एकताको टुंगो २०७५ वैशाखमाः उपाध्यक्ष रावल


२७ चैत, कैलाली । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले नेकपा (माओवादी) केन्द्रसँगको पार्टी एकता वैशाखमा टुंगो लाग्न सक्ने बताउनुभएको छ ।

एमाले प्रदेश संगठन कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न हिजाे धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दुवै पार्टीका तर्फबाट प्रतिवेदन तयार भएर पेश भइसकेकाले अब छिट्टै पार्टी एकता हुने जानकारी दिनुभयो ।

नेता रावलले संघीय मन्त्रिपरिषद्मा प्रदेश नं ७ बाट प्रतिनिधिसभा र राष्ट्रियसभा गरेर एमालेका २० सांसद भए पनि सरकारमा प्रतिधित्व नगराइनु अन्यायपूर्ण भएको बताउँदै यस प्रदेशबाट संघीय सरकारमा तत्काल यथोचित र न्यायोचित प्रतिनिधित्व गराउनसमेत माग गर्नुभयो ।

प्रदेश कमिटीको बैठक चैत २३ देखि २६ गतेसम्म धनगढीमा बसेको थियो । प्रदेश ७ को आर्थिक र व्यापारिक केन्द्रको रूपमा रहेको धनगढीसँग जोडिएको भारतीय गौरीफन्टा नाका बन्द नगर्न र यसलाई अझै सुविधायुक्त बनाउँदै लैजान प्रदेश कमिटीको बैठकले माग गरेको पनि नेता रावलले बताउनुभयो ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०६:५४