९ असार २०८१, आईतवार | Sun Jun 23 2024

१४ मेगावाट क्षमताको जलविद्युत निर्माण कार्य शुरु


२५ चैत, म्यमग्दी । म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ को १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ ।

घारको विरौटादेखि करीव तीन किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माण पूर्वका तयारीलाई तीव्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए ।

आयोजनाको मुख्य कामका रुपमा हेरिने सुरुङ मार्गमा विष्फोटन कार्यका लागि नेपाली सेनाको क्याम्प राख्न आवास निर्माण भइसकेको छ । सडकबाट प्रभावित अधिकांशलाई मुआब्जा वितरण गरिसकेको बाँकी कागजी प्रक्रिया पुगेपछि उपलब्ध गराउने समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्ने उनले बताए ।

आगामी तीन वर्ष्भित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको यस आयोजनामा २ अर्ब ४१ करोड लगानी अनुमान गरिएको आयोजनाका इञ्जिनियर जोसेफलाल बज्राचार्यले जानकारी दिए ।

जलविद्युत् आयोजनाको सुरुङ खन्दा खानेपानीका मुहान सुक्नसक्ने भन्दै स्थानीयस्तरबाट आवाज उठेपछि खानेपानीको मुहानको अवस्थाबारे अध्ययन गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद बरुवालको संयोजकत्वमा रहेको जलविद्युत् सरोकार समिति र जलविद्युत् आयोजनाका इञ्जिनियरको टोलीले आयोजनाबाट प्रभावित समुदायभित्र रहेका खानेपानीका मुहानमा पानीको अवस्थाबारे अध्ययन गरेका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार ११:०१