९ असार २०८१, आईतवार | Sun Jun 23 2024

उदयपुरमा आगलागीबाट बाह्र घर जल्यो, एक वृद्धा बेपत्ता


२५ चैत, उदयपुर । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेको छ भने एक वृद्धा बेपत्ता भएकी छिन् ।


जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट आगलागी शुरु भएपछि रातको ३ बजेसम्ममा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ भने छ करोडभन्दा बढीको क्षति भएको अनुमान छ ।

तामाङको घरमा रातिको समयमा धामी बसाएको र आगो सल्केको हुनसक्ने प्रहरीले बताएको छ । आगलागीबाट तामाङको ७० वर्षीया आमा बारीमाया तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।

आगलागी शुरु भएपछि ढिलो खबर प्राप्त भएका कारण प्रहरीले कटारी नगरपालिका र त्रियुगा नगरपालिकाबाट दमकल मगाएर प्रहरी तथा स्थानीयवासीको प्रयासपछि अहिले बिहानको ३ बजे मात्र आगलागी नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

आगलागीबाट स्थानीय टेकप्रसाद श्रेष्ठ, भरत कार्की, वीरबहादुर तामाङ, तिलकुमारी दाहाल, निर्मला विक, लवराज कार्की, तिलकमान तामाङ, रमेश खतिवडासहितको घर तथा लत्ताकपडा, अन्नपातसहित सम्पूर्ण वस्तु जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार ०९:०६