११ असार २०८१, मंगलवार | Wed Jun 26 2024

जनप्रतिनिधिद्धारा वैश्य समुदायलाई अवसरबाट वञ्चित गरिराखेको आरोप


२४ चैत, जनकपुरधाम । जनकपुरमा नेपाल वैश्य युवा सङ्घ केन्द्रिय कार्य समितिद्वारा आयोजित कार्यक्रममा वैश्य समुदायलाई राज्यले चन्दादाताका रूपमा मात्र स्थान दिई अधिकार र अवसरबाट वञ्चित गरिराखेको आरोप प्रतिनिधिसभा र प्रदेशसभाबाट निर्वाचित जनप्रतिनिधिले लगाएका हुन् ।

नेपालमा ३० लाख भन्दा अधिक जनसंख्या वैश्य समुदाय भए पनि राज्यले अन्य समुदायलाई लक्षित गरी दिएको पहिचानसरह वैश्यलाई पहिचानबाट वञ्चित राख्नु दुःखद् भएको उनकोे धारणा छ ।

वैश्य समुदायलाई चन्दादाताका रूपमा लिने गरेका वैश्यको अपहरण, हत्या, अपमान भइरहेकोतर्फ उनले ध्यानाकर्षण गराए । प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले शासनमा साझेदारी सन्दर्भमा हालसम्म पनि विभेदजन्य संरचना रहेको बताए ।

समाज र राष्ट्रको विकासमा वैश्य समुदायको योगदान रहे पनि सत्ताधारीहरूको गलत मनोविज्ञानको शिकार वैश्यहरू भएका छन् भन्दै उनले विभेदजन्य मानसिकताको अन्त्य गर्न ऐक्यबद्ध हुनुपर्ने आवश्यकतामा जोड दिए ।

प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साह र प्रदेशसभा सदस्य परमेश्वर साहले वैश्य समुदायसँग भइरहेको उपेक्षा, असुरक्षाप्रति राष्ट्र गम्भीर हुनुपर्ने खाँचो औँल्याएका छन् । संघका अध्यक्ष दिलीपकुमार साहले वैश्य समुदायलाई संकीर्ण परिधिमा राख्ने मानसिकतामा परिवर्तनको आवश्यकता भएको बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार २०:१२