१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

स्थानीयद्धारा रसुवाको बन्द खानी सञ्चालन गर्न माग


२४ चैत, रसुवा । गणेश हिमालको फेदीमा उत्खनन गरी अलपत्र अवस्थामा रहेका खनिज पदार्थ निकाल्नका लागि स्थानीयले सरकारसंग माग गरेको छ ।

सिसा तथा फलामजस्ता खनिज पदार्थ उत्पादन गर्न सकिने भएकाले विगतमा ठूलो धनराशि खर्चेर उत्खनन गरी अलपत्र अवस्थामा छाडिएकाले त्यहाँ खानी सञ्चालन गर्न खानी तथा भूगर्भ विभागसमक्ष आग्रह गरिएको आमाछोदोङमो गाउँपालिका अध्यक्ष बुचुङ तमाङले बताए ।

रसुवाका वरिष्ठ समाजसेवी दावाफिन्जो तमाङका अनुसार गणेश हिमालमा बंगलादेशका विशेषज्ञ चञ्चलकुमार चक्रवर्तीको रेखदेख र नेपाली प्राविधिकबाट कच्चापदार्थ निकाल्न सुरुङमार्गसमेत निर्माण भइसकेको छ ।

त्यहाँ खानी सञ्चालन गरी रसुवाको गरिमा उच्च पारिदिन जिल्लावासीले अपेक्षा गरिरहेका छन् । उत्खनन सुरुङको लम्बाइ एक हजार ३०० मिटर रहेको बताइएको छ ।

कच्चापदार्थ खोज्ने कार्य विसं २०२४ देखि शुरु भएको र २०३५ सालतिर त्यहाँ उत्खनन गरिएको थियो । उत्खननबाट प्राप्त कच्चापदार्थ ढुवानीका लागि २०४४ सालमा सरकारले त्रिशूली सोम्दाङ नामले १०५ किमी सडक निर्माण गरें तरपनि सिसाजस्ता खानी सञ्चालन हुन नसकी अलपत्र छोडिएको हो ।

समाजसेवी तमाङले खानी सञ्चालन भएमा आफ्नो देशको स्रोतबाट आत्मनिर्भरता टेवा पुग्ने र अर्कोतर्फ स्थानीय बासिन्दालाई रोजगारीका अवसर मिल्नेछ ।

यो खानी २०५६ सालबाट पूर्ण रुपले बन्द भएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार १५:०५