२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

राससका कर्मचारी डिभी परेर अमेरिका उडे, न बिदा न राजिनामा व्यवस्थापन बेखबर !

६ जेठ, काठमाडाैँ । राष्ट्रिय समाचार समिति (रासस) कार्यरत कर्मचारी र पत्रकारको जागिर खाने थलोमात्र बन्दा प्रभावकारीतामा प्रश्न उठ्ने गरेको छ । जागिर राससमा खाने र काम बाहिर गर्ने पत्रकार र कर्मचारीको कारण नेपालको एकमात्र समाचार संस्था राससको भविष्य नै के हुने हो भन्ने खालका प्रश्नहरू समेत उठ्ने गरेका छन । समान प्रकृतिका सञ्चार माध्यममा काम गर्ने पत्रकारहरूले राससलाई जागिरमात्र खाने स्थान बनाएका छन ।  राससको विकृतिको विषय उजागार गर्ने हो भने त्यस्ता विषयको पहाडनै खडा हुने अवस्था रहेको छ ।

पछिल्लो समय एक जना कर्मचारी डिभी परेर अमेरिका उडे तर रासस नै बेखबर रहेको छ । राससका खेलकुद संवाददाता डिभी परेर अमेरिका गएको विषय सबैजसो कर्मचारीले जानकारी पाए कतिपयले आगामी यात्राका लागि भन्दै शुभकामना पनि दिए तर व्यवस्थापन भने पुरै बेखबर रहेको छ । दैनिकीले राससका संवाददाता कुमार चौलागाई अमेरिका उडेको बारेमा महाप्रबन्धक ओपेन्द्र शर्मालाई सोध्दा उनले आफूलाई यसबारेमा कुनै जानकारी नभएको बताए । महाप्रबन्धक शर्माले विदा लिने र कतै जानपरे पूर्व स्वीकृति दिने मै हुँ मलाई नै यो विषयमा कुनै जानकारी छैन । उनले औपचारिक रूपमा जानकारी नभए पनि अनौपचारिक रूपमा कर्मचारीको बीचमा चौलाई अमेरिका उडेको बारेमा केही थाहा पाएको बताए ।

चाैलागाई मामा नाता पर्ने राससका पूर्व अध्यक्ष तारानाथ दाहाल मार्फत कम्युटर अपरेटरको रूपमा रासस प्रवेश गरेका थिए । पछि उनै मामाको कारणबाट उनी फ्रिडम फोरमको परियोजना समेत काम गर्थे जहाँ राससका प्रदेश संयोजक एकराज पाठक बोर्ड मेम्बर रहेका छन भने अन्य दुई जना कर्मचारीले परियोजनामा जागिर नै खाइरहेका छन । अंग्रेजी डेस्कमा कार्यरत नारायण घिमिरे र कृष्ण सापकोटा अहिले पनि फ्रिडम फोरमको परियोजनामा कार्यरत रहेका छन । जुन कुरा फ्रिडम फोरमको वेवसाइटमा स्पष्ट रूपमै हेर्न सकिन्छ ।

विकृतिको चाङ

त्यसो त राससामा विकृतिको पहाड नै छ । विना स्वीकृति विदेश जाने, विदा बस्ने लगायत अनावश्यक काज स्वीकृत गर्ने र हाजिर राससमा गरेर बाहिर सञ्चारमाध्यममा जागिर खाने पत्रकारको संख्या पनि उल्लेख्य रहेको छ । राससको अंग्रेजी डेस्कमै कार्यरत महेन्द्र सुवेदी विना पूर्व स्वीकृति अहिले चीनमा रहेका छन । उनले विगत तीन महिनादेखि तलब समेत खाइरहेका छन तर राससमा रहेको उनको हाजिरमा भने निरन्तर रातो लागिरहेको छ । यस्तै नेपाली डेस्क्का प्रमुख रहेका शितल महतो राजधानी दैनिकको पनि डेस्कमा काम गर्छन । त्यस्तै अन्तर्राष्ट्रिय डेस्कमा कार्यरत जीवन भण्डारी रेडियो एनआरएनमा प्रमुख पदमै कार्यरत रहेका छन । राष्ट्रपतिको  चीन भ्रमणको समयमा वैशाख १४ गते नियोजित रूपमा दलाई लामाको समाचार हाल्ने पनि अन्तर्राष्ट्रिय डेस्क नै भएको बुझिएको छ । जुन समयमा राससको डेस्कमा सोमनाथ लामिछाने, मोहिनी मिश्र र जीवन भण्डारी रहेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन । यद्पी लामाको समाचार किन त्यसरी आयो भन्ने विषयमा छानविन भैरहेको छ ।

राससमा काम गर्ने सबैजसो कर्मचारी राजनीतिक रूपमा कित्ताकाट गरेर बसेका छन । अहिले प्राय सबै कर्मचारी कुनै न कुनै पार्टी निकटको रूपमा आफूलाई प्रस्तुत गर्छन । उनीहरू त्यसमै गर्व पनि गर्छन तर त्यही संस्कारले अहिले रासस उधोगतिमा लागेको छ । १६० जना कर्मचारीको दरबन्दी रहेको राससमा कार्यरत सबै पत्रकार र कर्मचारीले आफू अनुकुलको सरकार हुँदा काम गर्ने र प्रतिकुलको सरकार हुँदा काम गर्नेको समेत कुरा काटेर कत्लेआम गर्ने अभियानमा हुन्छन । यद्यपी यस्ता समस्या समाधानमा व्यवस्थाले धेरै पनि ध्यान दिन सकेको छैन ।

फ्रिडम फोरममा कार्यरत र बोर्डमा रहेका राससका कर्मचारी रातो घेरामा

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १०:४६