१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

खैरहनी नगरपालिकाको बजेट पर्यटनका लागिमात्र एक करोड ७३ लाख

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले पर्यटन क्षेत्र विस्तारका लागि रु एक करोड ७३ लाख बजेट विनियोजन गरेको छ । उक्त नगरपालिकाले सौराहा र कुमरोजलाई जोडेर अन्य क्षेत्रमा समेत पर्यटन विस्तार गर्ने काम शुरु गरेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो ।

पर्यटन विस्तारका लागि रु एक करोड ७३ लाख बजेट छुट्याइएको छ । पर्यटनका हिसाबले सौराहाबाट कुमरोज जोडिएको र त्यसलाई अझ विस्तार गर्दै कठार र कङ्काल सामुदायिक वनसम्म पु¥याउने योजना नगरपालिकाले अघि सारेको उहाँको भनाइ छ ।

नगरको पर्यटकीय महत्व बोकेको कङ्काली सामुदायिक वनमा मचान (भ्यू टावर) निर्माणका लागि रु ५९ लाख, वनभोज स्थललगायत पूर्वाधार निर्माणका लागि रु २९ लाख, कुमरोज सामुदायिक वनमा मेसजाली निर्माणका लागि रु १५ लाख र भ्यू टावरका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ ।

खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको वन, कुमरोज वन र कुचकुचे वन जोड्ने गरी पर्यटन मार्ग निर्माणका लागि रु ३० लाख विनियोजन गरेर काम भइरहेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताउनुभयो ।

सो मार्ग निर्माण भएपछि कुमरोजको जिप सफारी समेत विस्तार हुने कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिनुभयो । सौराहा आउने पर्यटक घुम्न आउँदा कुमरोजमा चिया खाने, कठार पुग्दा खाना खाने र कङ्काली पुग्दा खाजा खाने गरी गतिविधि सञ्चालन गर्न सके यहाँका स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुने नगर प्रमुख चौधरीको बताउनुहुन्छ ।

खैहरनी नगरपालिकाको कुमरोज र कठार क्षेत्र चितवन निकुञ्जसँग जोडिएको राप्ती नदी र वन्यजन्तुको वासस्थान हो । यहाँ पर्यटक जिप सफारी, हात्ती सफारी, पैदलवाक तथा मचानमा बसेर वन्यजन्तु, चराचुरुङ्गी हेर्न र दृष्यावलोकन गर्न मन पराउछन् । पर्यटकलाई जिप सफारी गराएर मात्रै कुमरोजमा गएको एक वर्षमा रु ३० लाख आम्दानी भएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार ०८:४७