१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

बंगुरको मासु खान अनिवार्य छैनः नेपाली सेना


२२ चैत, काठमाडाैँ । नेपाली सेनाले ‘सेनाको भान्सामा पकाएको बंगुरको मासु नखाँदा नेपाली सेनाको जागिर गयो’ भन्ने शिर्षकको समाचार प्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार विज्ञप्ति मार्फत नेपाली सेनाले कसैलाई पनि जबरजस्ती अण्डा वा मासु खान अनिवार्य नगरिएको स्पष्ट पारेको छ ।

हेर्नुहोस सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्ति

१. अनलाईन पत्रिका ‘नयाँखोज २४ डटकम’ र ‘नागरिकन्यूज डटकम’ मा मिति २०७४÷१२÷२१ गते प्रकाशित ‘सेनाको भान्सामा पकाएको बंगुरको मासु नखाँदा नेपाली सेनाको जागिर गयो’ भन्ने शिर्षकको समाचार प्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ ।

२. नेपाली सेना आफैंमा एक समावेशी संगठन भएकाले सम्पूर्ण भाषा, भाषी, जात जातिका व्यक्तिहरुको धर्म, संस्कृति, रितिरिवाज तथा परम्पराको सधै उच्च सम्मान गर्दै आईरहेको र सो सन्दर्भमा नेपाली सेनाको स्विकृत स्केलमा प्राप्त कुखुरा तथा खसीको मासु तथा अण्डा नखाने साकाहारी सकलदर्जालाई उक्त स्केल बराबरको रकमबाट फलफुल, दुध÷दही जस्ता खाद्य वस्तुको व्यवस्था हुने गरेकोबाट कसैलाई पनि जबरजस्ती अण्डा वा मासु खान अनिवार्य नगरिएको स्पष्ट नै रहेकोले पनि भान्छामा पाकेको बंगुरको मासु नखाँदा जागिर गयो भन्ने आशयको समाचार आधारहीन र कपोलकल्पित भएको स्पष्ट हुन्छ ।

३. मिति २०६०÷१०÷५ गते सैन्य दर्जामा भर्ना भई बांके जिल्लाको राँझास्थित श्री नं. ४ बाहिनी अड्डामा कार्यरत प्युठ मोहम्मद जाबिर खाँले घरायसी समस्या दर्शाई उपदानमा राजिनामा जान पाउँ भनि राजी–खुसी सिलसिलेवार पेश गरेको राजिनामाको कागजाद अनुसार नै नियमानुसार उपदानमा राजीनामा स्वीकृत भएको हुँदा ‘दवाव र योजनाबाट जागिर गएको’ भनि प्रेशित तथ्यहीन समाचारबाट भ्रममा नपर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गमा अनुरोध गर्दछ ।

४. साथै, यस प्रकारको समाचार प्रसारण पूर्व नेपाली सेनाको सम्बन्धित निकायमा सोधपुछ गर्न सकिने व्यवस्था रहँदा रहदै सो नगरेको देखिन्छ । सवै जात, जाति, भाषा, भाषीहरु तथा धर्मका व्यक्तिहरु सदिऔं देखि एक–आपसमा मिलेर बसेको हाम्रो जस्तो समाजमा यस्ता आधारहीन र अतिरञ्जित समाचारबाट सामाजिक एकता र सद्भावमा खलल पुग्न सक्ने वास्तविकता तर्फ सम्बन्धित सबै सम्वेदनशील भई भविष्यमा समाचार सम्प्रेषण हुने कुरामा नेपाली सेना विश्वस्त रहँदै प्रेशित समाचार सच्याउन ध्यानाकर्षण समेत गर्दछौं ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार १७:५३