१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

नेपालमा लगानी गर्न ऊर्जामन्त्री पुनको आग्रह


२१ चैत, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित ‘दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय उर्जा मञ्च’लाई आज सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग शुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

उहाँले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत् विकासमा उल्लेख्य सुधार भएको उल्लेख गर्नुभएको ऊर्जा मन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत् व्यापार सम्झौता ९पिटिए० को प्रक्रिया शुरु भएको जानकारी गराउनुभएको थियो ।

उहाँले भारतसँग विद्युत् व्यापार सम्झौता ९पिटिए० भइसकेको जानकारी दिँदै अब बंगलादेश र चीनसँग पनि छिट्टै उक्त सम्झौता हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पुनले ऊर्जा तथा विद्युत्को क्षेत्रमा चीनसहित सार्क र बिम्स्टेकस्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा मन्त्री पुनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत् उत्पादन विस्तार गर्न आवश्यक रहेको बताउनुभएको थियो । उहाँले दिगो र गुणस्तरीय विद्युत् विकास गर्न क्षेत्रीयस्तरमा पनि सम्बन्ध बलियो हुनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री पुनले नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पार्दै वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको जानकारी गराउनुभएको थियो । उहाँले सदस्य राष्ट्रका ऊर्जा मन्त्रीलाई नेपाल भ्रमण गर्न निम्तो पनि दिनुभएको छ । सम्मेलन बिहीबारसम्म चल्नेछ । रासस

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार १९:२९