३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

ठगीको आरोप लागेका म्यानपावर व्यवसायी रमेश श्रेष्ठ दुबईबाट पक्राउ

१४ वैशाख, काठमाडाैँ । ठगीको आरोप लागेका म्यानपावर व्यवसायी रमेश श्रेष्ठ यूएईबाट पक्राउ परेका छन । शुक्रबार दुबईमा आयोजित धुर्मुस सुन्तली साँझकाे कार्यक्रम स्थलबाटै प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । गैरआवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष समेत रहेका रमेश श्रेष्ठलाई स्थानीय प्रहरीले दुबईबाट पक्राउ गरेको छ ।

चितवन समाज युएईको संयोजनमा युएईमा विभिन्न संघ संस्थाद्वारा आयोजित कार्यक्रमको अतिथिको रुपमा उपस्थित रहेका श्रेष्ठलाई सेक्युरेटीले बाहिर बोलाएर प्रहरीको जिम्मा लगाएका थिए। कार्यक्रम आयोजक संस्था चितवन समाज यूएईका अध्यक्ष पर्शुराम घिमिरेले श्रेष्ठ पक्राउ परेको पुष्टि गरेका छन । श्रेष्ठ पक्राउ परे लगत्तै युएईका नेपाली व्यवसायी शंकर श्रेष्ठले रमेश श्रेष्ठविरुद्ध आफूले उजुरी दिएको फोन मार्फत बताएका छन् ।

व्यवसायिक लेनदेनमा आफूले पाउनुपर्ने रकम नपाएपछि श्रेष्ठविरुद्ध स्थानीय प्रशासन मार्फत अदालतमा मुद्दा दायर गरेको उनले बताए। आफूले पाउनु पर्ने ६० हजार दिर्हाम नदिएकाले उनीविरुद्द उजुरी दिएको शंकरको भनाइ छ । युएईमा रहेर व्यवसाय गर्दै आएका एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ ‘जिसिडी ह्युमन रिसोर्स एन्ड म्यानेजमेन्ट कन्सल्टेसीका प्रबन्धक निर्देशक हुन्। दुबै जनाले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार १७:०२