फ्रान्सकै अमूल्य सम्पदामध्येको एक नोट्र ड्याम चर्चमा भीषण आगलागी
३ वैशाख, काठमाडाैँ । फ्रान्सको राजधानी प्यारिसमा रहेको ८ सय ५० वर्ष पुरानो तथा फ्रान्सकै अमूल्य सम्पदामध्येको एक नोट्र ड्याम चर्चमा लागेको आगोले छाना शिखर र केही संरचना खरानी भए पनि मुख्य भवन भने जोगिएको फ्रान्सको अग्नी नियन्त्रण कार्यालयले जनाएको छ । आगलागीमा परेको फ्रान्सको प्राचीन चर्च नोट्र ड्याम क्याथेड्रलको मुख्य संरचना जोगिएको हो ।
आगलागीको कारण थाहा भैनसकेको तर चर्चमा भइरहेको जिर्णोद्धारको काम कै कारण आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगलागी लगत्तै हजारौँ सर्वसाधारण सडकमा आएर प्रार्थना गरेका थिए । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले यो दुखद् भएको बताउँदै मंगलबारका लागि तय भएको राष्ट्रिय संबोधन स्थगित गरेका छन् । सन् १९४४ को अगष्ट २४ तारिखमा यो चर्चमा ठूलो आवाजमा घण्टी बजाएर प्यारिस नाजी शासनबाट मुक्त भएको घोषणा गरिएको थियो ।
प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार ०८:४८