१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

श्वेतपत्र अर्थतन्त्रको यथार्थ तस्वीरः अर्थमन्त्री खतिवडा


२० चैत, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्वीर रहेको बताएका छन ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखसँग समय लिएर डा खतिवडाले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा गरेका लगानीले प्रतिफल दिन थालेको र स्थिरता हुँदै समृद्धिको यात्रा अघि बढेको पनि श्वेतपत्रमा उल्लेख भएकाले समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रबारे आफूले सदनलाई श्वेतपत्रमार्फत जानकारी गराएको बताए ।

उनले राज्यको सम्पत्ति कुनै व्यक्तिको हातमा नजाओस् भन्नेमा सरकार सचेत छ भन्दै यसको अर्थ निजीकरणलाई रोक्न वा बन्द अर्थतन्त्र ल्याउन खोजिएको भन्ने नबुझ्न आग्रह गरे । उनले भने “निरपेक्ष उदारीकरणले हामीलाई सीमान्तकृतमा पनि पार्न सक्छ भन्ने विश्व अर्थतन्त्रले देखाइसकेको छ, हामी विश्वव्यापी खुला अर्थतन्त्रलाई राष्ट्रिय हितमा प्रयोग गरेर अघि बढ्ने सोचमा छौँ ।” रासस

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १५:४०