३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मापदण्डका नाममा भूकम्प पीडितको अनुदान नरोक्न प्रधानमन्त्री अोलीको निर्देशन, अटेर गरे कारबाही

१९ चैत, काठमाडाैँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्को बैठकले पुनःनिर्माणको काम हरसम्भव उपाय अवलम्बन गरेर पूरा गर्न प्राधिकरणलाई निर्देशन दिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा अाइतबार साँझ बसेको परामर्श परिषद्को बैठकमा भूकम्पपछिको पुनःनिर्माणमा हालसम्म भएको प्रगतिको समीक्षा भएको प्रवक्ता यामलाल भुसालले जानकारी दिनुभयो ।

परामर्श परिषद्को बैठकपछि पुनःनिर्माणको बाँकी कार्यलाई थप प्रभावकारी र चुुस्त ढंगबाट अघि बढाउन विस्तृतरुपमा छलफल गर्न आगामी मंगलबार निर्देशक समितिको बैठक बोलाउने निर्णय भएको प्रवक्ता भुसालले बताउनुभयो । बैठकमा प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले पुनःनिर्माणको कामलाई कुनै पनि बहानामा नअल्झाउन तथा हरसम्भव प्रयास गरेर पूरा गर्न निर्देशन दिनुभएको थियो ।
“निर्माणको काम धिमा गतिमा भयो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसलाई गति दिनुपर्छ । कतिपय पीडितले मापदण्ड नपु¥याइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज होइन ।”

“भूकम्प गएको तीन वर्षपछि मापदण्डको फित्ता र डण्डी लिएर गएर हुँदैन । निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनुपर्दछ,” उहाँले भन्नुभयो । पहिलेदेखि बसोबास गरिआएका तर जग्गाधनी पूर्जा नभएका घरधनीलाई पनि अनुदान रकम उपलब्ध गराउन निर्देशन दिँदै उहाँले ऐन कानूनले केही अफ्ठ्यारो पार्छ भने सच्याएर अरुले पाएसरह सुविधा दिने व्यवस्था गर्नुपर्दछ ।

प्रधानमन्त्री ओलीले सिंहदरबार भवन पुनःनिर्माण विश्वविद्यालयमा पढेर आएर अभ्यास गर्ने ठाउँ नभएको उल्लेख गर्दै सिंहदरबारको मूल भवनमा भइरहेको रेट्रो फिटिङको ढिलाईप्रति असन्तुष्टि जनाउनुभयो । अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा शुरु गरेको ‘म बनाउँछु मेरो धरहरा’ कार्यक्रम अलपत्र परेकोमा अब तिव्रता दिइनेछ भन्नुभयो ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार ०६:४८