पूर्व गृहमन्त्री खड्काको निधनले दाङका स्थानीय स्तब्ध
१८ चैत, दाङ । विकासप्रेमी नेता खुमबहादुर खड्काको निधनले दाङका स्थानीय स्तब्ध भएका छन । दंगालीहरुले विकासप्रेमी नेतालाई गुमाएको अभिव्यक्ति दिएका छन् । खड्कालाई पार्टीमा जेसुकै भनिए पनि जिल्लाको विकास निर्माणमा उदार मनको नेता भएकाले सबैले उहाँको उच्च सम्मान गरेका छन् । “खुमबहादुर साँच्चै प्रजातन्त्रका योद्धा अनि जुधारु नेता पनि हुनुहुन्थ्यो, उहाँलाई गुमाउनुपर्दा धेरै दुःख लागेको छ”– बयोवृद्ध दलबहादुर वलीले भन्नुभयो ।
प्रजातन्त्रका सेनानी तिलक डांगीले स्व खड्का निःस्वार्थ विकासप्रेमी नेता भएको बताउनुभयो, “जिल्लाको विकास, निर्माण र समृद्धिको काम गरेर कुशल संगठकका रुपमा पनि प्रजातन्त्रको कुशल नेतृत्व गुमाएका छौँ, प्रजातन्त्रका लागि अहोरात्र खट्ने, कुशल संगठनकर्ता, विकासप्रेमी नेता खड्काको निधनले एउटा विकासको नक्षत्र हो । ”
स्व खड्काको जन्मथलो घोराही उपमहानगरपालिका–५ गाविस वडा नं ६स्थित भैसाप्रथा गाउँ शोकमा छ । स्थानीयवासी आफूहरुले मात्र नभएर देशले नै अभिभावक गुमाएको बताए ।
विगतमा उहाँको नाम सुन्दा खुशीले प्रफुल्ल हुने स्थानीयवासीमा मृत्युको खबर सुन्दा अप्रत्यासित लागि रहेको स्व। खड्काका अभिभावक समेत रहनुभएका स्थानीयवासी सुरवीरसिंह वली बताउनुभयो । “खुमबहादुरको उपचारको क्रममा मृत्यु भएको सबैले सुनाउँछन्, तर मलाई विश्वासै लाग्दैन”, खड्कासँगै बाल्यकाल बिताउनुभएका उहाँले भन्नुभयो ।
“पहिले गाउँमा सडक थिएन, खानेपानीका लागि एक घण्टा हिँडेर जानुपथ्र्यो, तर खुमबहादुर मन्त्री भएको बेलामा गाउँमा कुवा बनाइदिनुभयोे, बिजुली बत्ती ल्याइदिनुभयो, सडक र सिँचाइको व्यवस्थासमेत गरिदिनुभयो” स्थानीय केशरबहादुर केसीले भन्नुभयो । त्यस्तै खड्काको निधनसँगै उहाँको गृह गाउँ लमही नगरपालिका–८ सतवरिया शोकमा डुबेको छ ।
काँग्रेस समर्थकलाई मात्र होइन सबै पार्टीप्रति आस्था राख्ने सबै दुखी बनेका खड्काको निधनमा । खड्का काँग्रेसका नेता मात्र होइन जिल्लाको विकासको सारथी नै हुनुहुुन्थ्यो । “सबैको साझा नेता खड्कालाई हामीले गुमाएका छाँै, आफ्नो अभिभावक गुमाएको पीडा शब्दमा उतार्न सकिँदैन” लमही नगरपालिका–८ का वडा अध्यक्ष मेघनारायण चौधरीले भन्नुभयो ।
गाविस–६ मा जन्मेका खड्काको कर्मथलो सतवरिया हो । सतवरियामा रहेको उनको घरमा शनिबारदेखि सन्नाटा छाएको छ ।
प्रकाशित मिति : १८ चैत्र २०७४, आईतवार १३:४७