१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानमन्त्रीले आफ्ना नागरिकसँग निकट नबनेको प्रियंकाको आरोप

१५ चैत, अयोध्या । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका मान्छेलाई अँगालो हाल्दै हिँडेपनि आफ्नैलाई नजिक राख्न नसकेको भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियंका गान्धी भद्राले आरोप लगाउनुभएको छ । प्रधानमन्त्री मोदीले भारतीय नागरिकहरुको मन जित्न नसकेको आरोप उहाँले शुक्रबार लगाउनु भएको हो ।

“प्रधानमन्त्री मोदीले अमेरिका, जापान, चीन लगायतका कैयौ देशका मानिससँग अँगालो मार्नुभएको छ, तर उहाँले आफ्नै देशका मानिससँग अँगालो मार्नु भएको छैन,” अयोध्यामा आयोजित चुनावी सभामा प्रियंकाले भन्नुभयो । उहाँले प्रधानमन्त्री मोदी ‘आफ्नै निर्वाचन क्षेत्र वाराणासीमा नगएको भन्ने गुनासो’ सुन्दा आफुलाई आश्चर्य लागेको पनि बताउनुभयो ।

“प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रका गाउँहरुमा आएको वा नआएको बारेमा बाराणासीमा मैले स्थानीय जनतालाई सोधेको थिए, मैले उहाँ नआएको जवाफ पाँए,” उहाँले भन्नुभयो । महासचिव गान्धीले आफ्नो निर्वाचन क्षेत्रलाई प्रधानमन्त्रीले वेवास्ता गरेको आरोप लगाउदै आफ्नो निर्वाचन क्षेत्रमा केही गर्नैपर्ने भएपनि नगरेको टिप्पणी गर्नुभयो ।

उहाँले भारतीय जनता पार्टी (भाजपा) धनी मानिसको मात्रै “चौकिदार” बनेको तर गरिबको “चौकिदार” नभएको आरोप लगाउनुभयो । मोदी नेतृत्वको सरकार “किसानको विरुद्धमा, जनताको विरुद्धमा” रहेको र धनीलाई झन धनी बनाउन केन्द्रीत भएको काँग्रेस महासचिव गान्धीको भनाई छ ।

भारतमा लोकसभा निर्वाचनका लागि मतदान गर्ने दिन नजिकिदै गर्दा प्रतिश्पर्धी दलहरुले एक अर्कालाई अनेक आरोप प्रत्यारोप गर्ने क्रम बढ्दै गएको छ । आउदो अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा हुन लागेको निर्वाचनमा मुख्य गरेर सत्तारुढ दल भाजपा र प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसका बीचमा कडा प्रतिश्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार १२:१४