२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

शेयर बजारमा सामान्य सुधार

१३ चैत, काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार करीब दुई अङ्कले वृद्धि भएको छ । प्राविधिक समस्याका कारण आज दिउँसो १.४२ पछि अवरुद्ध भएको कारोवार साँझ १८.०० बजेसम्म भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.८९ विन्दुले बढेर एक हजार १४२.६१ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५२ बिन्दुले बढेर २४३.१९ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६६ कम्पनीको २२ लाख २६ हजार ८५० कित्ता शेयर रु ४८ करोड ६६ लाख ४१ हजार ७९ मूल्यमा खरीद बिक्री भएका छन् ।

कारोवार भएका दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने छ उपसमूहको शेयर वृद्धि भएको छ । जलविद्युत् ०.०९, निर्जीवन बीमा १९.४२, उत्पादन ०.३६, अन्य ०.६४ बिन्दुले घटेका छन् । यस्तै बैंकिङ १.५३, होटल १७.११, विकास बैंक ६.४६, लघुवित्त ५.१४, जीवन बीमा ३९.२५ बिन्दुले बढेका छन् ।

समय थप भएर भएको कारोवारमा आज लक्ष्मी बैंकको मात्रै रु २६ करोड ६६ लाख ३९ हजार ५७१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै शिवम् सिमेन्टको रु पाँच करोड ५४ लाख ४० हजार ८९६, एनएमबी बैंकको रु ९७ लाख ३७ हजार ६२७, मेगा बैंकको संस्थापक शेयर रु ७३ लाख ८०० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार किसान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले दश प्रतिशतले कमाउँदा अपि पावर कम्पनी ४.४८, राँधी विद्युत् कम्पनी २.९९, विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.८० प्रतिशतले कमाएका छन् ।

यस्तै युनिभर्सल पावर कम्पनीका शेयर धनीले ९.५८ प्रतिशतले गुमाएका छन् । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३.४७, कन्काई विकास बैंक ३.२२, जानकी फाइनान्सका शेयरधनीले २.३८ प्रतिशतले गुमाएका छन् । थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आउँदा आज बिहान ११ बजे शुरु भएको शेयर कारोवार १.४२ सम्म नियमित भए पनि त्यसपछि समस्या देखिएको थियो । समस्या समाधान गरेपछि स्टकले साँझ १८ बजेसम्म कारोवार गराएको थियो ।

स्टकले एक विज्ञप्तिमार्फत सदस्य दलाल कम्पनीले प्रयोग गरेको ब्रोकर प्रणाली ‘होस्टिङ’ भएको डेटा सेन्टरको राउटर र सुरक्षा प्रणालीमा आएको समस्याका कारण निर्धारित समयमा कारोवार गराउन नसकिएपछि समय थप गरिएको जनाएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार २०:००