११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

डा प्रेम ज्ञवालीको अनुरोध, बिरामीका अघि यस्ता कुरा भुलेर पनि नगर्नुस्

१२ चैत, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा प्रेम ज्ञवालीले बिरामीका अघि कुरा गर्दा सचेत हुन अनुरोध गरेका छन । अाफैँले उपचार गरिरहेकी एक बिरामीको अवस्थाको बारेमा उल्लेख गर्दै उनले नजानेको मान्छेले गतल कुरा भनिदिँदा बिरामीमा अर्कै असर देखिएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत बिरामीसँग कुरा गर्दा सावधानी अपनाउन अनुरोध गरेका हुन । उनले नेपालमा नपढेका २ कोरड डाक्टर रहेको भन्ने भनाइसमेत उल्लेख गर्दै नजानेको विषयमा बिरामीसँग अनेक अर्तिउपदेशका कुरा नगर्न अनुरोध गरेका हुन । डा ज्ञवालीले सामाजिक सञ्जालमा गरेको अनुरोध यस्तो रहेको छ ।

कृपया यदि तपाईलाई थाहा छैन भने कुनैपनि बिरामीलाई उसको रोगको बारेमा नराम्रो र असान्दर्भिक सल्लाह दिने नगर्नु होला। यसले बिरामीमा साह्रै नै नकारात्मक असर पार्दछ। संदर्भ आजको एकजना बिरामीको बारेमा हो जसलाई मैले बिगत केही महिना देखी उपचार गरि रहेको छु र उनलाई राम्रो पनि भई राखेको छ। उनको कुनै क्यान्सर अथवा अंगभंग हुने जस्तो डरलाग्दो रोग होईन तर निको हुन अलि लामो समय लाग्ने रोग हो। यिनै बिरामीकी एक जना सहेली (जो कुनै पनि हिसाबले वा उनको पेशाले यस बिषयमा संबन्ध राख्दिनन्) केही दिन अगाडी गएर भनिछन, ए बुझिस्? मेरी सासुलाई पनि पहिला यस्तै हुने गर्थ्यो, शुरु-शुरुमा पिसाब ईन्फेक्सन हुन्थ्यो पछि गएर भित्र पाकेर घाऊ भएछ अनि त्यस ठाऊंमा क्यान्सर भएर बित्नु भयो भनेर। त्यस दिन देखी मेरो बिरामीमा त्यो कुराले यति धेरै नराम्रो असर परेको छ कि न उनी खाना खानै सक्छिन, न त निदाउन नै सक्छिन। पुर्ण रुपले एक किसिमको मानसिक असन्तुलन भएको छ उनमा। अहिले मलाई उनको बास्तविक रोग भन्दा उनको मानसिक रोग उपचार गर्न गाह्रो भई राखेको छ मलाई। हुनत नेपालमा नपढेका २ करोड डाक्टरहरु छन भन्ने गरिन्छ, उनिहरू संग जुनसुकै रोगको बारेमा पनि कनै न कुनै सल्लाह र उपदेशहरु छन रे तर यस्ता असान्दर्भिक र नकारात्मक सल्लाहले बिरामीमा नराम्रो असर पार्दछ। यदि तपाईलाई बिरामी संग केही बोल्नै मन लाग्यो या केही अर्ति उपदेश दिनै मन लाग्यो भने पनि आफुले जानेको बिषयमा मात्रै बोलि दिनुस्। आफुले सुनेको भरमा या सुन्दै नसुनेका कुराहरु पनि काल्पनिक तवरले बनाएर बिरामीको रोग झनै बढाउने काम नगरिदिनु होला। मेरो बिन्ती छ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलवार ०९:०४