१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

धनगढीदेखि अछामसम्म हवाई सेवा सुरू

८ चैत, अछाम । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो ।

यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न शुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिए । समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न सकिने भन्दै उनले यात्रुको चाप र मागलाई मध्यनजर गरी हप्तामा सातै दिन उडान भर्न सकिने बताए ।

धनगढीदेखि साँफेबगरसम्मका लागि ३ हजार ३५० भाडादर कायम गरिएको छ । धनगढी–साँफेबगर नियमित हवाई सेवा सञ्चालन हुँदा अछामसहित बाजुरा र डोटी जिल्लाका यात्रुलाई पनि सहज हुने भएको छ ।

यसअघि नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि साँफेसम्म निरन्तर दोहोरो उडान सञ्चालन गरिरहेकामा फागुन २२ गतेदेखि समिट एयरले पनि नेपालगञ्जदेखि साँफेबगर उडान शुरु गरेको थियो । नेपाल एयरलाइन्सले हरेक आइतबार र बिहीबार उडान भर्दै आएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १४:३३