१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चीनको येनचंग शहरकाे केमिकल कम्पनीमा बिस्फोट, ४४ जनाको मृत्यु, ६४० घाइते

८ चैत, एजेन्सी । पूर्वी चीनस्थित एक केमिकल कम्पनीमा भएको बिस्फोटमा ४४ को ज्यान गएको छ भने ६ सय ४० घाइते भएका छन् ।चीनकाे येनचंग शहरमा तियानजियाई केमिकलको एक संयन्त्रमा नेपाली समयानुसार बिहिबार बिहान ११ बजेर ५ मिनेटमा यो बिस्फोट भएको थियो ।

 मल ( फर्टिलाइजर ) बनाउने कारखानामा  बिस्फोटपछि आगो फैलिएको थियो । चीनियाँ सरकारी टिभीका अनुसार कारखानामा लागेको आगो शुक्रबार नियन्त्रणमा आएको छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार करिब ६ सय ४० घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये ३२ को स्थिती गम्भीर छ ।

सोसल मिडियामा देखिएका तस्बिर अनुसार कारखानामा आगो लाग्नेबित्तिकै आकाश घुँवाले भरिएको थियो । थुप्रै मानिसहरु घाइते छन् र भवनलाई पनि क्षती पुगेको छ । स्थानीय मिडिया अनुसार बिस्फोट यति शक्तिशाली थियो कि कारखाना नजिकका भवन पनि यसको चपेटमा आएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ११:४९