२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

रक्षामन्त्री पोखरेल मध्यवर्ती क्षेत्रका समस्या बुझ्न काठमाडौँको डाँडागाउँमा


१७ चैत, काठमाडौँ । काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेल शिवपूरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्रमा रहेका जनताको समस्या बुझ्न डाँडागाउँ पुग्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र समेत रहेको काठमाडौंको सवैभन्दा उत्तरी धुव्रको गाउँमा पुगी रक्षामन्त्री पोखरेलले जनताका समस्या र गुनासा सुन्दैं समाधानका निम्ती पहलकदमी लिने बताउनुभएको हो ।

जंगली जनावरले कृषि उत्पादनलाई नष्ट गर्ने, विगार्नेकाम गरिरहेको भन्दैं डाँडागाँऊका स्थानीयले मन्त्री पोखरेलसँग गुनासो गरेका थिए । स्थानीय वालविकास स्कुलका प्राचार्य दोर्जे तामाङले निकुञ्ज क्षेत्र आसपासमा जंगली जनावरले खाद्य बाली नष्ट गरेको भन्दैं स्थानीय जनता मर्कामा परेको बताउनुभयो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष स्थानीय दावा लामाले जंगली जनावरबाट खाद्यबालीमा हुने क्षतिबाट जोगाउने काममा स्थायी समाधान नखोजी सरकारले राहत बाँड्ने काममात्रै गरेको भन्दै रोष प्रकट गर्नुभयो । ‘शिवपूरीमा पर्खाल लगाएर हुन्छ वा कसरी हुन्छ, जंगली जनावरलाई निकुञ्ज क्षेत्र बाहिर निस्किन नदिने उपाय खोजिनुपर्छ, सरकारले कृषकलाई राहत मात्रै बाँड्ने कुरा गर्नुहुँदैंन’–स्थानीय लामाले मन्त्री पोखरेलसँग गुनासो गर्दै भन्नुभयो ।

स्थानीय आमा समूहका सदस्य हरिमाया तामाङले निकुञ्ज क्षेत्रमा महिला र बालबच्चालाई विहानै स्कुल कलेज जाँदा असुरक्षाको महसुस गरिरहेको गुनासो गर्नुभयो । सुत्केरी र वालवच्चा विरामी पर्दा उपचार मध्यवर्ती क्षेत्रमा यातायातको समस्या हुने भन्दै आमा समूहका सदस्यहरुले निकुञ्जको सुुरक्षामा रहेको नेपाली सेनालाई एम्वुलेन्स र प्राथमिक उपचारको व्यवस्था गर्न आग्रह गरे ।

स्थानीय जनप्रतिनिधि बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, वडा अध्यक्ष विजय तामाङलगायतले निकुञ्जको उपयोग, अधिकार क्षेत्र तथा सम्वृद्धिका निम्ती अपनाउनुपर्ने उपायको सन्दर्भमा सुझाव प्रस्तुत गरेका थिए ।मन्त्री पोखरेलले जनता र स्थानीय जनप्रतिनिधीका गुनासा र सुझाव सुनेपछि त्यससँग सम्वन्धित निकुञ्ज र नेपाली सेनाका प्रतिनिधिहरुबाट समस्या समाधानका निम्ती राय÷सुझाव लिनुभएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले मध्यवर्तीक्षेत्रका स्थानीय जनतालाई उचित क्षतिपूर्तिको व्यवस्था गत वर्षदेखि दिन थालिएको बताउनुभयो । उहाँले अब छिट्टै निकुञ्जको १२९ किलोमिटरमा रहेको पर्खाललाई व्यवस्थित गरी जंगली जनावर जनताको खेतबारी जान नसक्ने स्थिती बनाउन लागिएको बताउनुभयो ।

त्यस्तै नेपाली सेनाले डाँडागाउँ जानलाई नेपाली सेनाको स्टाफ कलेजको प्रांगणबाट जानुपर्ने हुँदा त्यस्ले सुरक्षा चुनौती थपिएको र त्यसले स्थानीयवासीलाई हिंडडुल गर्न गाह्रो भएकाले बैकल्पिक मार्गको प्रस्ताव गरेका थिए । सरोकारवालाहरुको भनाई सुनेपछि रक्षामन्त्री पोखरेलले निकुञ्ज क्षेत्रको संरक्षणमा आफु प्रतिवद्ध रहेको भन्दैं स्थानीयका समस्या समाधान गर्ने आफु प्रयत्नरत रहेको बताउनुभयो । उहाँले आशिंक स्वार्थभन्दा सम्पूर्ण स्वार्थ माथि हुने भन्दै कानुनमा केही कमजोरी भए सुधार गर्दै लैजाने तर निकुञ्ज संरक्षणको नियमलाई पालना गरेर अघि बढ्ने बताउनुभयो । उहाँले मध्यवर्ती क्षेत्रका समस्या समाधानका निम्ती स्थानीय निकाय, सामाजिक संघ संस्था एवंम सरकारी पक्षविच बसेर थप छलफल गर्ने बताउनुभयो ।

अहिले निकुञ्ज आसपासमा मन्दिर, क्लव र गुम्वा बनाउने बाहानामा जग्गा हड्प्ने प्रवृत्ति बढेको भन्दै मन्त्री पोखरेलले यस नाममा अतिक्रमण गर्ने प्रवृत्तिको विरोध गर्नुभयो । ‘केहीले अहिले सार्वजनिक जमिनमा मन्दिर, क्लव र गुम्वा बनाएर अतिक्रमण गर्ने बडो कलात्मक शीप र शैली सिकेका छन्, त्यस्तो कुरा सहन गर्न सकिन्न’–मन्त्री पोखरेलले भन्नुभयो । कार्यक्रमा स्थानीय जनताले डाँडागाउँलाई जैविक पर्यटकीय स्थल बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार १५:३१