प्रधानमन्त्री ओलीले दिए माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनाको शेयरका लागि आवेदन
७ चैत, काठमाडौं । जनताको जलविद्युतको सेयरका लागि प्रधानमन्त्री ओलीले आवेदन दिएका छन् । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) का लागि आवेदन दिएका हुन् । बिहीबार बालुवाटारस्थित निवासबाट प्रधानमन्त्री ओलीले १० हजार कित्ताका लागि आवेदन दिएका हुन् ।

सरकारको यो कार्यक्रम अन्तर्गत सेयरका लागि आवेदन प्रतिकित्ता १० रुपैयाँका दरले नै दिन सकिनेछ । प्रतिकित्ता १ सय रुपैयाँ पर्नेमा पहिलो चरणमा सेयर किन्ने प्रतिवद्धता स्वरुप सरकारले १० प्रतिशतमात्रै रकम तिरेर आवेदन दिन सकिने नियम बनाएको हो ।
त्रिशुली जलविद्युत् कम्पनी लिमिटेड अन्तर्गतको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको आईपीओ किन्न प्रधानमन्त्री ओलीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता समेत खोलिसकेका छन् । नेपाली नागरिकको लगानीमा तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम शुरु गर्न लागिएको हो ।
त्रिशुली जलविद्युत् कम्पनीका अनुसार पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण सेयर बिक्री खुला गरिनेछ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत साधारण सेयर बिक्री गर्न लागिएको यो पहिलो जलविद्युत् कम्पनी हो । सो कम्पनीको सेयर निष्काशन छिटोमा यही चैत ११ गते र ढीलोमा आगामी वैशाख ६ गतेसम्म हुनेछ ।
प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार १२:१९












