२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

भ्रष्टाचारबाट टाढै बस्न गाउँपालिका अध्यक्षहरूलार्इ प्रधानमन्त्री अोलीको अाग्रह


१७ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भएमात्र देश सफल हुने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भनेपनि जनताले त्यो कुरा महशुस गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीको भनाइ छ । “सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी तपाईंहरुले काम गर्नुहोस्” प्रधानमन्त्री ओलीले भन्नुभयो,– “यसपाली हामीले सरकारका अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेका छौं । यसलाई सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्छ ।”

स्थानीय तहमा युवा र महिला जनप्रतिनिधीको संख्या उल्लेख्य भएकोले धेरै काम हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “अहिले ५१ प्रतिशत उपाध्यक्ष ४० बर्ष भन्दा मुनीका, एक चौथाइ अध्यक्ष ४० बर्ष भन्दा कम उमेर समुहका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “४० प्रतिशत जनप्रतिनिधी त महिला नै छन् । यस्तो बेलामा पनि स्थनीय तहको विकास नभए कहिले होला त ?”

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधीलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशन दिनुभएको छ । भ्रष्टाचार, कुशासन जस्ता कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरुलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस ।”

प्रधानमन्त्री ओलीले स्थनीय तहमा भएको कर्मचारीको अभाव चाँडै पुरा गरिने बताउनुभएको छ । सरकारले कर्मचरी समायोजनको काम अघि बढाइ सकेकोले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने प्रधनमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले पूर्वाधार, विद्यतु, वैकल्पिक उर्जा, सञ्चार आदि क्षेत्रको विकासमा लाग्न जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार १४:४३