सिरियाबाट ज्यान जोगाउन भागेका बाबुछोरा न्यूजील्यान्डमा मारिए
६ चैत, क्राइस्टचर्च । सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्यान्डबासी उपस्थित भएर भावपूर्ण विदाई गरेका थिए ।
न्यूजील्यान्डको क्राइस्टचर्चका दुईवटा मस्जिद आक्रमणमा मारिएका व्यक्तिहरुमध्ये हालसम्म यी दुई बाबुछोराको मात्र दाहसंस्कार भएको छ । उक्त घटना भएको पाँच दिन पुगिसकेको छ र अन्य व्यक्तिको दाहसंस्कारमा विभिन्न कारणले ढिलाइ भइरहेको छ । सिरियाबाट यहाँ आएकाहरुमा बाबु ४४ वर्षीय खालिद मुस्तफा र उनका १५ वर्षीय छोरा हम्जा मुस्तफा रहेका छन् ।
क्राइस्टचर्चको मस्जिदमा शुक्रबारको प्रार्थनाका लागि जम्मा भएका व्यक्तिमध्ये ५० जनाको गोली लागी मृत्यु भएको थियो । गोरा अतिवादीले उक्त आक्रमणको भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकमा समेत प्रत्यक्ष प्रशारण गरेका थिए । हम्जा पढ्ने माध्यमिक विद्यालयका प्रिन्सिपलले हम्जा पढाइमा निकै मिहिनेती रहेको बताउँदै उनलाई घोडचढी खुबै मनपर्ने गरेको स्मरण गर्नुभयो ।
यी बाबुछोराको दाहसंस्कारमा हम्जाका भाइ १३ वर्षीय जाइद पनि उपस्थित थिए । मस्जिदमा सँगै रहेका जाइदलाई भने पाखुरा र खुट्टामा गोली लागेको थियो । “दाहसंस्कारका समयमा उनी ह्वीलचेयरबाट उठ्न खोज्थे, तर सक्दैनथे,” दाहसंस्कारमा सहभागी एक जनाले बताउनुभयो ।
“हामीले उनलाई हात नमिलाउन अनुरोध ग¥यौं । तर उनी सबैसँग हात मिलाउन चाहन्थे, उनी सबैजना उपस्थित भएकामा खुशी हुन चाहन्थे,” अस्ट्रेलियाबाट दाहसंस्कारमा सहभागी हुन क्राइस्टचर्च पुग्नु भएका जमिल एल–बिजाले भन्नुभयो ।
मुस्तफा बाबुछोरा गत वर्ष मात्र न्यूजील्यान्ड बसाइँ सरेका थिए । जोर्डनमा करिब छ वर्ष शरणार्थी जीवन बिताएर उनीहरु अस्ट्रेलिया हुँदै न्यूजील्यान्ड पुगेका थिए । मुस्तफाकी पत्नी सल्वाले रेडियो न्यूजील्यान्डसँग कुरा गर्दै सबै जनाले विश्वमै सबैभन्दा सुरक्षित मुलुक न्यूजील्यान्ड हो भनेपछि यहाँ आएको बताउनुभयो ।
उहाँले भन्नुभयोः “तर यहाँ पनि सुरक्षा रहेनछ ।”
मस्जिद गोलीकाण्डमा मारिएका परिवारका सदस्यहरु आफ्ना नातेदारको दाहसंस्कारका लागि व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् । प्रहरी आयुक्त माइक बुसले प्रहरीले सबै पीडितको पहिचान गरिसकेको र २१ जनाको शव सम्बन्धित परिवारजनलाई बुझाउन लागेको जानकारी दिनुभयो ।
इस्लामिक धार्मिक परम्परा अनुसार शवको शुद्धिकरण पश्चात जतिसक्दो चाँडो जमिनमा गाड्नु पर्दछ । न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डनले आमजनता समक्ष पीडितका पक्षमा कुरा गर्न पुनः आग्रह गर्नुभएको छ । उहाँले हत्याराको नाम समेत लिन नहुने बताउनुभयो ।
मस्जिद आक्रमणमा १४ वर्षका काश्मिरी छात्र १४ वर्षीय सायद मिल्नेको पनि मृत्यु भएको छ । मङ्गलबार साँझसम्म करिब ३० जना अझै अस्पतालमा उपचारारत छन् । तीमध्ये करिब १० जनाको स्वास्थ्य स्थिति निकै जटिल रहेको अस्पतालले जनाएको छ । घाइतेमध्ये चार वर्षकी बालिका पनि छिन् ।
अस्ट्रेलियाली नागरिक २८ वर्षीय ब्रेन्टन ह्यारिसन टारान्टमाथि मस्जिद आक्रमण र व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले टारान्ट एक्लैले गोली चलाएको हो वा अरु पनि सहभागी थिए भन्ने बारेमा अनुसन्धान गरिरहेको छ । न्यूजील्यान्डकी प्रधानमन्त्री आर्डनले मुलुकको बन्दुक कानुनमा सुधार गर्ने बताउँदै अर्को साताभित्र नयाँ कानुन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:२७