१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

काँग्रेस महासचिव प्रियंकाद्धारा गंगायात्रा सुरु

५ चैत,  भारत । भारतीय राष्ट्रिय काँग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरु गर्नुभएको छ । उत्तर प्रदेशको मँैयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर उहाँले तीन दिने यात्रा सुरु गर्नुभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँको यात्रा काशीसम्म हुनेछ ।

“गंगा मैयाले हामीलाई आर्शिवाद दिनुहुने छ, उहाँ धेरै दयालु हुनुहुन्छ,” महासचिव प्रियंकाले पत्रकारहरुसँग भन्नुभयो । उहाँले गंगा यात्राको पहिलो दिन बादे हनुमान जी मन्दिरका भक्तालु र त्रिवेणी संगमका तिर्थालुहरुसँग यात्रा गर्नु भएको छ । यात्राका क्रममा उहाँ डुम्डामाघाट, सिर्साघाट, लोकशाग्रिहघाट र सीतामार्हीघाट लगायतका ठाउँमा रोक्दै जानुहुनेभएको छ ।

उहाँको साथमा पार्टी प्रवक्ता अखिलेश प्रताप सिंह, विधान सभा सदस्य आरधाना मिश्र, संघीधावित्रि बै फुले र केही विद्यार्थीहरु सहभागी भएका छन् । फुले सन् २०१४ को निर्वाचनबाट लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीबाट निर्वाचित हुनुभएको थियो । उहाँ अहिले भने काँग्रेस पार्टीमा हुनुहुन्छ । यही मार्च २ तारिखका दिन उहाँ काँग्रेस प्रवेश गर्नु भएको हो ।

गान्धीको यो यात्रालाई जनताका बीचमा जाने माध्यमका रुपमा लिइएको छ । आम नागरिकलाई राजनीतिक नेताहरुले प्राथमिकता नदिने गरेको भन्दै उहाँले जनतासँग संवाद गर्ने बताउनु भएको छ । भ्रमणका क्रममा उहाँले माझी र नदिका छेउछाउमा रहेका नागरिकसँग अन्तरक्रिया गर्नुहुने भएको छ ।

“यो एक पक्षीय मन्तव्य सुनाउने यात्रा हुनेछैन, जनतासँग दोहोरो छलफल र वार्ता हुनेछ,” उत्तर प्रदेशका काँग्रेस अध्यक्ष राज बाब्बारले ट्वीटरमा लेख्नु भएको छ । यात्रामा आम नागरिकसँगको संवादलाई प्राथमिकता दिइएकाले “साच्ची वात, प्रियंकाके साथ” भन्ने नारा तय गरिएको छ । स्टीमर डुङ्गाबाट हुने उहाँको यो यात्रा झण्डै १४० किलोमिटर लामो हुने नेताहरुले बताएका छन् । भारतको उत्तर प्रदेशमा आगामी अप्रिल ११ देखि मे २३ सम्म विभिन्न चरणमा मतदान हुने तय भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलवार ११:२७