१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

उम्मेदवार छान्न भाजपाको बैठक बस्दै

३ चैत, नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा)ले आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमित शाहले बैठकमा आगामी लोकसभा निर्वाचनका लागि उम्मेदवारको सूची पेश गर्ने विषयमा आवश्यक छलफल गर्नुभएको समाचारमा जनाइएको छ ।

शनिबार राति अबेर बोलाइएको सो बैठकले आइतबार बिहानीपखसम्म छलफल गरी आगामी आम निर्वाचनमा पार्टीका तर्फबाट ११ ओटा राज्यमा उठाइने उम्मेदवार छनौट गरेको बताइएको छ । श्रोतका अनुसार उहाँहरुले अहिले ११ राज्यका निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सूची तयार पार्नुभएको छ तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

उक्त समितिले विहार, उत्तराखण्ड, आसाम, अरुणाञ्चल, मणिपुर, त्रिपुरा, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कश्मीरका लागि उम्मेदवारहरुको सूची बनाउनुभएको बताइएको छ । पश्चिम बङ्गाल, विहार, उत्तरप्रदेश, उत्तराखण्ड, आसाम, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कश्मीरमा पहिलो चरणमा निर्वाचन हुनलागेको छ । सात चरणमा हुने निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचन भने अप्रिल ११ मा हुने तय भएको छ ।मन्त्रीहरु सुष्मा स्वराज, राजनाथ सिंह, अरुण जेट्ली र किरण रिजिजु पनि बैठकमा सहभागी हुनुभएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १७:३९