प्रचण्डको नक्कल गरेर प्रचण्ड हुँदैनः अध्यक्ष दाहाल
३० फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव पार्टी समुहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले विप्लवको पार्टीलाई हिजो सँगै लडेका आफ्नै साथीहरुको सरकार रहेको हेक्का राख्न सुझाव पनि दिएका छन् ।

‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिँडेको पनि भेटियाे, उनले भने, सजिलो छैन प्रचण्ड बन्न पनि’, उनको भनाइ थियो । प्रचण्डले कसैले चाहेर पनि केही भैहाल्ने अवस्था नरहेको बताए । ‘म पनि प्रचण्ड बन्छु भनेर हिँडेको थिइँन, जनताको काम गर्छु भनेर हिँड्दा हिँड्दै जनताले मलाइ प्रचण्ड बनाइदिए’ उनले भने ।
सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । आफुले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गरे ।
प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १६:३३












