९ असार २०८१, आईतवार | Sun Jun 23 2024

रोल्पा नगरपालिकाले स्थानीय विषयवस्तु समावेश गरी पाठ्यपुस्तक तयार गर्ने


१६ चैत, रोल्पा । रोल्पा नगरपालिकाले नगर क्षेत्रभित्रका स्थानीय विषयवस्तु समावेश गरी १ देखि ५ कक्षा सम्मको पाठ्यपुस्तक तयार गरी लागू गर्ने भएको छ ।

नगर क्षेत्रभित्रका कक्षा १ देखि ५ सम्मका विद्यालयमा स्थानीय वातावरण सुहाउँदो पूर्ण सरसफाइ, कला संस्कृति, जीवन उपयोगी सीप र कृषिजस्ता पक्षलाई समेटेर पाठ्यक्रम तयार गर्न लागिएको नगर शिक्षा समितिले जनाएको छ ।

नगरपालिका भित्रको शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन स्थानीय विषयवस्तु समावेश गरी पाठ्यक्रम तयार गर्न लागेको नगर प्रमुख पूर्ण केसीले जानकारी दिए । शैक्षिक सत्र २०७५ देखि लागू हुने गरी हरेक विद्यालयले १०० पूर्णांक स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम तयार गरी लागू गर्ने केसीले बताए ।


समावेश गरिने विषयवस्तु समयसापेक्ष भएकाले पाठ्यक्रममार्फत कार्यान्वयन गर्नसके नगर क्षेत्रभित्रको शिक्षा व्यावहारिक हुने बालकल्याण नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले प्रतिक्रिया जानकारी दिए ।

नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्ने लक्ष्य लिएको रोल्पा नगरपालिकाले शिक्षाको विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । नगर क्षेत्रभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र वडाध्यक्षको भेला गरी नगर क्षेत्रको शैक्षिक प्राथमिकताका विषयमा समेत छलफल गरिसकेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १२:४९