९ असार २०८१, आईतवार | Sun Jun 23 2024

पत्रकार महासंघको स्थापना दिवस आज, ‘सेल्फसेन्सरसीप’ अन्त्य हुनुपर्नेमा आचार्यको जोड


१६ चैत, काठमाडौँ । नेपाल पत्रकार महासंघले देशको विकास र समृद्धिको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा जारी गर्नुभएको विज्ञप्तिमा सञ्चार माध्यमलाई राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नुका साथै सत्यतथ्य सूचना प्रवाह र जनताका आवाजलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न आग्रह गर्नु भएको छ ।

 

नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई कार्यान्वयन गदै सोही नीतिअनुरुप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।

महासंघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आम सञ्चार प्राधिकरण, विज्ञापन परिषद् जस्ता निकायको स्थापना गर्न समेत सरकारसँग माग गरेको छ ।

यसैगरी, प्रेस काउन्सिलको पुनःसंरचना, समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायत माग पूरा गर्न पनि आग्रह गरिएको छ । महासंघले पछिल्ला दिनमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आएपनि अझैपनि दण्डहीनता र ‘सेल्फसेन्सरसीप’को अवस्था कायमै रहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार ०७:३९