२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

सिटिजन लाइफको नाफा २३.९० प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

२० कात्तिक, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)मा २३.९० प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १० करोड ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिसम्म कम्पनीले १३ करोड १४ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म कम्पनीको जीवन बिमा कोष ३५.०७ प्रतिशतले बढेर २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कोषमा २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ सञ्चित थियो ।

समीक्षा अवधिमा कम्पनीको बिमाशुल्क आर्जनतर्फ पनि राम्रो सुधार देखिएको छ । पहिलो तीन महिनामा कम्पनीले २ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब २३ करोड २८ लाख रुपैयाँको तुलनामा १५ दशमलव ३३ प्रतिशत बढी हो ।

त्यस्तै, कम्पनीको खुद बिमाशुल्क आर्जन १६ दशमलव ८२ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।

हाल ५ अर्ब रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको सञ्चित नाफा १७.८१ प्रतिशतले बढेर ५८ करोड ७० लाख रुपैयाँ पुगेको छ भने महाविपत्ति कोष ३ दशमलव ७१ प्रतिशतले वृद्धि भई २७ करोड ९४ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको  वार्षिकीकृत प्रतिसेयर आम्दानी ८ रुपैयाँ १ पैसा कायम भएको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रकाशित मिति : November 6, 2026 at 12:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/