१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

मुक्तिनाथ विकास बैंकको नाफा ४३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

१५ कात्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिमा ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। याे नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिकाे तुलनामा ४३.४४ प्रतिशतले बढी हाे। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको यस्तो नाफा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी भने नाफाको तुलनामा सामान्य दरले बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यसपालि २.७१ प्रतिशतले बढेर १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको कुल ब्याज आम्दानी १०.२५ प्रतिशतले घटेर २ अर्ब ३५ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ। तर ब्याज खर्च २०.९१ प्रतिशतले घटेर १ अर्ब १४ करोड ३ लाख रुपैयाँमा झरेको छ। कोषको लागतसमेत अघिल्लो वर्षको यही अवधिको ४.४६ प्रतिशतबाट घटेर ३.५५ प्रतिशत कायम भएको छ।

असोज मसान्तसम्म बैंकको कुल सञ्चित वितरणयोग्य नाफा ६१ करोड ५६ लाख ६ हजार रुपैयाँ सकारात्मक छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो रकम १ अर्ब २२ करोड ४९ लाख रुपैयाँ थियो। यसरी सञ्चित वितरणयोग्य नाफा वार्षिक तुलनामा ४९.७४ प्रतिशतले घटेको छ। प्रतिसेयर वितरणयोग्य नाफा पनि १५ रुपैयाँ ३१ पैसाबाट ७ रुपैयाँ ६९ पैसामा झरेको छ।

 चालु त्रैमासमा नियामकीय समायोजनपछिको वितरणयोग्य नाफा ६ करोड १ लाख ५० हजार रुपैयाँ ऋणात्मक छ। आर्थिक वर्षको सुरुवातमा रहेको ६७ करोड ५७ लाख ५६ हजार रुपैयाँ सञ्चित रकमबाट उक्त घाटा घटाउँदा असोज मसान्तमा ६१ करोड ५६ लाख रुपैयाँ बाँकी रहेको हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा भने त्यस अवधिको वितरणयोग्य नाफा १२ करोड ९१ लाख ९८ हजार रुपैयाँ ऋणात्मक थियो। बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १२ पैसा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २४ पैसा थियो। बैंकको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा रहेको छ।

प्रकाशित मिति : November 1, 2026 at 1:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/