ख्यातिप्राप्त गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त
१ कात्तिक, काठमाडौं । बौद्ध भिक्षुणी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले उनलाई पाँच वर्षका लागि उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पनि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले छोइङ डोल्मालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको पुष्टि गरेका छन । लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
लुम्बिनी विकास कोष पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ अनुसार उपाध्यक्ष कोषको प्रमुख प्रशासकीय पदाधिकारीसमेत हुने व्यवस्था छ । लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्तिसँगै कोषको प्रशासनिक काम, लुम्बिनी क्षेत्रको विकास तथा व्यवस्थापनले गति लिने अपेक्षा गरिएको छ।

सन् १९७० मा काठमाडौंमा जन्मिएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन् । बौद्ध धर्मगुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा बौद्ध मन्त्र तथा धार्मिक संगीतको अध्ययन गरेकी उनी पछि गायनमार्फत अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी हुन् । बौद्ध भजन र मन्त्रलाई आधुनिक संगीतको माध्यमबाट विश्वभर पुर्याएकी उनलाई ‘सिङ्गिङ नन’ अर्थात् गायिका भिक्षुणीका रूपमा चिनिन्छ।
संगीतका अतिरिक्त छोइङ डोल्मा शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा पनि सक्रिय छिन्। भिक्षुणीहरूको शिक्षा तथा स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले उनले नन्स वेलफेयर फाउन्डेसन र आर्य तारा स्कुल स्थापना गरेकी छन्। त्यस्तै, आमाको स्मृतिमा आरोग्य फाउन्डेसन स्थापना गरी मिर्गौलाका बिरामीलाई उपचारमा सहयोग गर्दै आएकी छन्।
बालबालिकाको स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद्मा परेकाहरूलाई सहयोग गर्ने अभियानमा समेत उनको संलग्नता छ। उनको आत्मकथा ‘सिङ्गिङ फर फ्रिडम’ विभिन्न भाषामा अनुवाद भएको छ। सामाजिक सेवा, संगीत र मानवीय योगदानका लागि उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन्।
प्रकाशित मिति : October 18, 2026 at 7:24 am










