३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैनः गृहमन्त्री गुरुङ

३० असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने बताएका छन् । ७१ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न निर्देशन दिए ।

उनले अपराधले सीमा नचिन्ने उल्लेख गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुन जरुरी रहेको बताए । गृहमन्त्री गुरुङले भने, “हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीको पहिलो बैठक एवं भारतीय समकक्षीसँग भएको वार्तामा सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र प्रविधिको उपयोगजस्ता विषयमा सहकार्य बढाउन जोड दिएको छु । क्षेत्रीय संयन्त्रबाट सिर्जना भएको अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्छ ।”

उनले प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बनाउन आग्रह गरे । “नयाँ पुस्ताले सोधेको छ– राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन ? मेरो भविष्य मेरो देश, मेरो मातृभूमिमै उज्ज्वल बन्छ कि बन्दैन ? यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान तथा विपद्का समयमा गरिने उद्धारले समेत निर्धारण गर्नेछ”, गृहमन्त्री गुरुङले भने । उनले प्रहरीलाई आफ्नो आचरण र कार्यशैली नागरिकमैत्री बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिए ।

प्रकाशित मिति : October 16, 2026 at 2:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/