प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौंः प्रधानमन्त्री शाह
३० असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् । ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका हुन् ।

‘नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ । प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बौद्धिकता एवं आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको छ,’ प्रधानमन्त्रीकाे सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री शाहले कर्तव्य पालनाको सिलसिलमा हालैको भोटेकोशी–त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गरेका प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले कर्तव्य निर्वाहका सिलसिलामा घाइते र अशक्त भएका प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे।
पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ थियो। यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैंक, इन्टरनेट र टेलिकम सेवा प्रदायक तथा डिजिटल वालेटलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढङ्गले सम्बोधन गर्ने व्यवस्था भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कृत्रिम बुद्धिमत्ता (एआई), ‘एरियल सेक्युरिटी एण्ड सपोर्ट युनिट’ र ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापनाको तयारी भइरहेको पनि बताए।
प्रकाशित मिति : October 16, 2026 at 1:59 pm








