मोरङमा प्रहरीले गोली चलाएर समात्यो गाँजा कारोबारी
३० असाेज, काठमाडौं । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका– ५ गोबिन्दपुरमा गाँजा कारोबारी पक्राउ गर्न गोली चलाएको हो ।
प्रहरीले घटनास्थलबाट करिब एक सय किलो गाँजासहित दुई भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ । रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोलाको बगरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरूसँग प्रहरीको जम्काभेट भएको थियो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोजेपछि एक राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि नरोकेपछि चलाइएको गोली लागेर भारतको अररिया जिल्ला, जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी घाइते भएका हुन् । उनको देब्रे खुट्टाको पिँडुलामा गोली लागेको छ । घाइते चौधरी र उनीसँगै रहेका भारत अररिया जिल्ला महगामा ग्राम पंचायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव पक्राउ परेका छन् ।
प्रकाशित मिति : October 16, 2026 at 11:12 am








