प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल र जर्मनीका राजदूत रोल्याण्डबिच भेटवार्ता
१९ फागुन, बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग जर्मनीका राजदूत रोल्याण्ड स्याफर सहितको टोलीले भेटवार्ता गरेको छ । मुख्यमन्त्री कार्यालयमा अाइतबार भएको भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ ।
मुख्यमन्त्री पोखरेलले संघीयता कार्यान्वयनको पहिलो वर्षमा रहेको, प्रदेश सरकारले अहिले कानुन निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको तथा संघीय संरचनाअनुसार सांगठनिक संरचना तयार भएको जानकारी दिएका थिए ।

मुख्यमन्त्री पोखरेलले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोग रहेकोप्रति प्रशंसा गर्दै प्रदेशको विकास प्रयासमा जर्मनीको सहयोगको अपेक्षा गरिएको र जर्मनीका लगानीकर्ता इच्छुक भए स्वागत गर्न तयार रहेको बताए ।
भेटमा राजदूत स्केफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए । उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकूल कानुनी वातावरण, तालिमप्राप्त जनशक्ति लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
प्रदेशसभा सञ्चालन र संघीयता कार्यन्वयन सम्बन्धमा छलफल भएको थियो । भेटमा प्रदेशसभा प्रदेश ५ का उपसभामुख कृष्णी थारु र प्रदेशसभा प्रदेश ५ का सचिव दुर्लभकुमार पुनको समेत सहभागिता रहेको थियो ।
प्रकाशित मिति : १९ फाल्गुन २०७५, आईतवार १४:३९












