लाभांश प्रस्ताव पारित गर्दै सिटिजन्स बैंकको वार्षिक साधारणसभा सम्पन्न
२७ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औं वार्षिक साधारणसभा बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा आज असोज २८ गते बुधबार अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडाैंमा सम्पन्न भएको छ ।
यस अवसरमा आ.व. २०८२/८३ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको एन।एफ।आर।एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८२/८३ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।
त्यसैगरी साधारणसभाले गत आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य मुनाफाबाट २०८३ आषाढ मसान्तको चुक्तापूँजी १५ अर्ब ५०करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुने ५८करोड ९२ लाख ८३ हजार ६१७.३४ रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२० प्रतिशतले हुने ३ करोड १० लाख १४ हजार ९२७.२३ रुपैयाँ सहित जम्मा ६२ करोड २ लाख ९८ हजार ५४४.५७ रुपैयाँ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले आर्थिक वर्ष ०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको २० वर्षको औसत लाभांश १०.०८ प्रतिशत रहेको छ ।
सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ७८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति : October 14, 2026 at 3:15 pm







