विकास बैंकको नाफा एक अर्ब ४२ करोडः सबैभन्दा अगाडि गरिमा , अन्य कुनकाे कति ?
२७ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा विकास बैंकहरूले झण्डै साढे १ अर्ब खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा कुल एक अर्ब ४२ करोड ७२ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।
बैंकहरूले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउन र भदौ महिनामा विकास बैंकहरूले एक अर्ब २७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
नाफाका आधारमा गरिमा विकास बैंक पहिलो स्थानमा छ। बैंकले भदौसम्म २८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा २७ करोड ४६ लाख रुपैयाँ थियो। गरिमाको नाफा ४.८१ प्रतिशतले बढेको हो। मुक्तिनाथ विकास बैंकले साे अवधिमा २५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ। तर बैंकको नाफा गत वर्षको ३६ करोड १७ लाख रुपैयाँबाट ३०.५० प्रतिशत घटेको छ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २० करोड ८४ लाख रुपैयाँ नाफा कमाएकाे छ । कामना सेवा विकास बैंकको नाफा १९ करोड २६ लाख रुपैयाँ पुगेको छ भने ज्योति विकास बैंकले १८ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ।
नाफा वृद्धिदरमा भने महालक्ष्मी विकास बैंक अगाडि रहेकाे छ। बैंकको नाफा गत वर्षको १० करोड ७५ लाख रुपैयाँबाट बढेर १८ करोड २७ लाख रुपैयाँ पुगेको छ।यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको नाफा १ करोड ६८ लाख रुपैयाँ पुगेको छ।
याे अवधिमा लुम्बिनी विकास बैंकको नाफा ६८.४८ प्रतिशत घटेर १ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ९ करोड ७९ लाख रुपैयाँमा झरेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक भने गत वर्षको ७ लाख ७० हजार रुपैयाँ घाटाबाट सुधार गर्दै यस वर्ष ३० लाख ६० हजार रुपैयाँ नाफामा फर्किएको छ। याे अवधिान सलपा विकास बैंक ६ लाख, नारायणी डेभलपमेन्ट बैंक ३१ लाख, सिन्धु विकास बैंक ७७ लाख, एक्सेल डेभलपमेन्ट बैंक ८६ लाख र कर्णाली डेभलपमेन्ट बैंक १ करोड ५० लाख रुपैयाँ घाटामा छन्।
प्रकाशित मिति : October 14, 2026 at 2:55 pm







