चाडपर्वमा साइबर ठगी नियन्त्रण गर्न राष्ट्र बैंकको कडा निर्देशन
२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले विजया दशमी, दीपावली तथा छठ पर्व २०८३ को सार्वजनिक बिदाको समयमा हुनसक्ने साइबर फ्रड तथा स्क्याम (विद्युतीय ठगी) नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन जारी गरेको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले असोज २७ गते सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई फोकल पर्सनको नाम, पद, मोबाइल नम्बर र २४ सै घण्टा निगरानी हुने ड्युटी इमेल ठेगाना उपलब्ध गराउन भनेको हो।

बैंक तथा वित्तीय संस्थाले तोकिएको व्यक्तिको विवरण नेपाल प्रहरी प्रधान कार्यालयको [email protected] इमेल ठेगानामा पठाउनुपर्ने सूचनामा उल्लेख छ। राष्ट्र बैंकका अनुसार चाडपर्वका समयमा सार्वजनिक बिदा हुने भएकाले विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनामा तत्काल समन्वय गर्न यस्तो व्यवस्था गरिएको हो।
बिदाका अवधिमा साइबर ठगी वा स्क्यामका घटना भएमा कारोबारको विवरण समयमै उपलब्ध गराउन, शंकास्पद खाता तथा कारोबार पहिचान गर्न र त्यस्ता खाता तथा कारोबार तत्काल रोक्का गर्न फोकल पर्सनको व्यवस्था गर्न लागिएको हो।
प्रकाशित मिति : October 14, 2026 at 10:46 am







