२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ

२७ असोज, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ८० लाख ४८ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बागलुङका २२ वर्षीय दीपक श्रीपाली, ललितपुरकी ३४ वर्षीया नेहा अधिकारी, पाँचथरका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरिकी ४२ वर्षीया सुस्मिता नेपालीलाई पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार टर्की, बेलायत र दक्षिण कोरिया पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार दीपकले टर्की पठाइदिने भन्दै एक पीडितबाट २ लाख ४८ हजार रुपैयाँ, नेहाले बेलायत पठाइदिने भन्दै ६७ लाख रुपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ र सुस्मिताले बेलायत पठाइदिने भन्दै ५ लाख रुपैयाँ लिएको आरोप छ ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : October 13, 2026 at 4:06 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/