२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

बेपत्ता कर्मचारीका परिवारलाई विद्युत् प्राधिकरणको राहत- जनही ५ लाख र ६ महिनासम्मको आधा तलब दिइने

२७ असोज, काठमाडौं । गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको राहत रकम प्रदान गर्न थालिएको छ । बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ जना कर्मचारी सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएकामध्ये ६ जनाको परिवारलाई तत्कालको राहत प्रदान गरिएको हो ।

सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही ५ लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको सुरु तलबको आधा रकम उपलब्ध गराउने प्राधिकरण सञ्चालक समितिले निर्णय गरेको छ । उक्त निर्णयअनुसार आवश्यक आधार र प्रमाणसहित निवेदन दिएका ६ जना हकवालाले राहत रकम प्राप्त गरिसकेका छन् ।

राहत पाउन बाँकी रहेका अन्य हकवालालाई आवश्यक कागजातसहित प्राधिकरणमा निवेदन दिन आग्रहसमेत गरिएको छ । प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदकबीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । साथै, आफू नजिकको हकवाला भएको खुल्ने स्थानीय तहको सिफारिस पत्र, बैंक खाता नम्बर र राहत उपलब्ध गराइदिन अनुरोध गरिएको निवेदनसमेत बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : October 13, 2026 at 2:35 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/