२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

सांसद खगेन्द्र सुनारमाथि रास्वपाको प्रतिबन्ध

२७ असोज, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

सुनारसँग सम्बन्धित सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उनीमाथि उठाइएका गम्भीर प्रश्नप्रति पार्टीको ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले यस्तो निर्णय सार्वजनिक गरेको हो।

पार्टीका अनुसार सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनका विषय गम्भीर र संवेदनशील छन्।

महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको उल्लेख गर्दै रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ।

सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको रास्वपाले जनाएको छ। अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिनको निष्कर्ष नआउँदासम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको पार्टीको भनाइ छ।

रास्वपाले यस विषयमा राज्यका सम्बन्धित निकायबाट पनि अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ। राज्यका निकायले गर्ने अनुसन्धानमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ।

कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण नदिने दाबीसमेत पार्टीले गरेको छ। यद्यपि, सार्वजनिक भएका आरोपबारे सम्बन्धित निकायको अनुसन्धान र छानबिनबाट आउने निष्कर्ष भने बाँकी छ।

प्रकाशित मिति : October 13, 2026 at 8:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/