२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

जनकपुर चुरोट कारखानासँगको बाँकी हिसाब मिलाउन २१ दिनको ताकेता

२६ असोज, काठमाडौँ । जनकपुर चुरोट कारखाना लिमिटेडले आफूसँग लेनदेन, कारोबार वा अन्य दायित्व बाँकी रहेका व्यक्ति तथा संस्थालाई प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको छ । कारखानाले सार्वजनिक सूचना जारी गर्दै दायित्वसम्बन्धी दाबी पेस गर्न २१ दिनको समय दिएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ माघ १५ को निर्णयअनुसार कारखानामा रहेको सरकारी लगानीको व्यवस्थापन गर्ने प्रयोजनार्थ अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीमार्फत कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्बन्धी कार्य सम्पन्न भइसकेको सूचनामा उल्लेख छ ।

कारखानासँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाको लेनदेन, कारोबार, अदालत वा कुनै निकायबाट भएका फैसलाबमोजिम लिनदिनुपर्ने हरहिसाब, जग्गा रोक्का, बिमा, कर्मचारी सेवा सुविधालगायत दायित्वसम्बन्धी कुनै दाबी भएमा तोकिएको समयभित्र प्रमाणसहित पेस गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

त्यस्तै, उद्योगलाई तिर्न बुझाउन बाँकी बक्यौता वा अन्य दायित्व भएमा सम्बन्धित व्यक्ति तथा संस्थाले आवश्यक प्रमाणसहित कारखानामा सम्पर्क गर्नुपर्ने जनाइएको छ । कारखानाले तोकिएको २१ दिनभित्र कुनै दाबी प्राप्त नभएमा प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने जनाएको छ । त्यसपछि कारखानामाथि कुनै दाबी गर्न नपाइने व्यहोरासमेत सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : October 12, 2026 at 11:44 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/