मुगुमा स्काईभेटरसहित पुरिएका चालकको उद्धार, अवस्था गम्भीर
२६ असोज, मुगु । मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सुख्खा पहिरो खस्दा स्काईभेटरसहित पुरिएका चालकको उद्धार गरी अस्पताल पठाइएको छ ।
मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा सोमबार बिहान करिब ८ः३० बजे माथिबाट एक्कासि सुख्खा पहिरो खसेको थियो । पहिरोमा बा ३ क ३२७६ नम्बरको स्काईभेटरसहित चालक पुरिएका थिए ।

पहिरोमा पुरिएका बझाङको बुङ्गल नगरपालिका–१० निवासी २४ वर्षीय बिमल बागलाई बिहान करिब १०ः३० बजे जेसीबीको सहायताले पहिरो पन्छाएर उद्धार गरिएको हो । गम्भीर अवस्थामा रहेका बागलाई बा.प्र.०१–००४ क ६४८३ नम्बरको ट्रकमार्फत उपचारका लागि रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।
पहिरोमा परी स्काईभेटरका सहचालक मुगुको सोरु गाउँपालिका–१ निवासी २२ वर्षीय विनय मल्ल पनि घाइते भएका छन् । पहिरोसँगै खसेको ढुङ्गाले उनको हात र खुट्टामा सामान्य चोट लागेको छ । उनलाई उपचारका लागि माझचौर मेडिकल पठाइएको छ ।
प्रकाशित मिति : October 12, 2026 at 11:32 am





