२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

सुपरमाई हाइड्रोपावरको ५९ करोड ४० लाखको हकप्रद सेयर निष्काशन गर्ने

२६ असोज, काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडले ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। आयोगले असोज २३ गते कम्पनीलाई ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकममध्ये ५१ करोड ४० लाख रुपैयाँ नबिल बैंकको कर्जा भुक्तानीमा र बाँकी ४ करोड ८० लाख रुपैयाँ मेसिनरी उपकरणको मर्मत तथा सम्भारमा खर्च गर्ने प्रस्ताव गरेको थियो । तर, आयोगको अभ्यासअनुसार मर्मतसम्भारमा खर्च गर्ने प्रयोजनका लागि हकप्रद सेयर निष्कासन गर्न नदिइने भएकाले बैंकको कर्जा तिर्न आवश्यक रकमका लागि मात्रै स्वीकृति दिइएको हो ।

आयोगले हकप्रद सेयरबाट प्राप्त रकम नबिल बैंकको कर्जा भुक्तानीमा प्रयोग गरी १५ दिनभित्र प्रमाणित कागजातसहित जानकारी गराउन कम्पनीलाई निर्देशन दिएको छ । त्यस्तै, आवश्यक अन्य निकायको सहमति लिनुपर्ने भएमा सहमति प्राप्त गरी आयोगलाई जानकारी गराउनुपर्ने सर्त पनि राखिएको छ ।

आयोगको निर्देशनअनुसार कम्पनीले पहिलो चरणमा संस्थापक सेयरधनीका लागि निश्चित समय तोकेर हकप्रद सेयर निष्कासन गर्नुपर्नेछ । संस्थापक सेयरधनीले रकम चुक्ता गरे–नगरेको विवरण सार्वजनिक गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँको करिब १ः०.९२५२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न सक्नेछ। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ।

इलाम जिल्लामा ७.८ मेगावाट क्षमताको सुपरमाई जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले यसअघि चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति मागेको थियो। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि अब नेपाल धितोपत्र बोर्डलगायत सम्बन्धित निकायको आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।

प्रकाशित मिति : October 12, 2026 at 10:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/