काठमाडौंमा ग्यास साट्न ११ बिक्री केन्द्र तोकिए, कुन कम्पनीका कहाँ पाइन्छन् ?
२६ असोज, काठमाडौँ । चाडपर्वका बेला एलपी ग्यासको सहज बिक्री तथा वितरण गर्न नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ११ वटा बिक्री केन्द्र तोकेको छ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २६ देखि ३० गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ग्यास साट्न सकिनेछ।
संघका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो समय ग्यासको आपूर्ति सहज बन्दै गएको छ। भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात भइरहेको र २०८३ साल भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको संघले जनाएको छ। यद्यपि, चाडपर्वका बेला केही उपभोक्ताले सहज रूपमा ग्यास नपाएको र अर्को ब्रान्डको सिलिन्डर साट्न समस्या भएको गुनासो गरेका थिए।
उपभोक्ताको यही समस्या समाधान गर्न उपत्यकामा बिक्री भइरहेका विभिन्न ब्रान्डका ग्यासलाई तोकिएका केन्द्रबाट बिक्री तथा साटफेर गर्ने व्यवस्था मिलाइएको संघका अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संघले सार्वजनिक गरेको विवरणअनुसार सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेस्ट र सुगम ब्रान्डका ग्यास उपलब्ध हुनेछन्। पेप्सीकोलामा सगर र एसटीसी ग्यास बिक्री गरिनेछ। बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास उपलब्ध हुनेछन्। सुकेधारामा बाबा र श्री, कलंकीमा साईबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास बिक्री गरिने संघले जनाएको छ।
त्यसैगरी, बुढानीलकण्ठको चपलीमा भानु, हरिसिद्धिमा नेपाल र एचपी, कलंकीमा गीता तथा कलंकीकै खसीबजारस्थित आरके ट्रेडर्समा सीताश्री ग्यास उपलब्ध हुनेछन्। सतुंगलमा श्रीमाया ग्यास बिक्री गरिनेछ।संघले तोकिएका बिक्री केन्द्रमा उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगका ग्यासका सिलिन्डर मात्रै साटफेर गरिने स्पष्ट पारेको छ। उल्लेखित केन्द्रबाहेक अन्य स्थानमा यो विशेष व्यवस्थाअन्तर्गत सिलिन्डर साटफेर नहुने संघले जनाएको छ।

प्रकाशित मिति : October 12, 2026 at 10:30 am





