विद्यालयभित्रै प्रधानाध्यापकलाई कुटपिट गर्ने दुई जना पक्राउ
२५ असोज, काठमाडौं । प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भएका ३६ वर्षीय निशान दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भएका ४४ वर्षीय ध्रुव प्रसाद घिमिरे रहेका छन् ।
काठमाडौंको बूढानीलकण्ठस्थित बाल उद्धार माध्यामिक विद्यालयको प्रांगणमा प्रधानाध्यापकमाथि कुटपिट भएको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट टोली परिचालन भएको थियो । उक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दाहालले विद्यालयमा कार्यरत महिला शिक्षकलाई अपशब्द बोल्ने, धाकधम्की दिने गरेका थिए । उनै दाहालले घिमिरेको निर्देशनमा कुटपिट गरेको पाइएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।
घटनामा संलग्न दाहाल र घिमिरे दुवै जनालाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ४ (चार) दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।
प्रकाशित मिति : October 11, 2026 at 5:42 pm





