२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

बूढीगण्डकी बाढी : विकास हाइड्रोको प्रसारण लाइमा क्षति

२५ असोज, काठमाडौं । आइतबार बिहाना बुढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण विकास हाइड्रोको प्रसारण लाइनमा क्षति पुगेको छ । बाढीले नदी किनारैकिनार रहेका प्रसारण लाइनका पोल र तार बगाउँदा आयोजनाबाट हुने विद्युत् उत्पादन पूर्ण रूपमा अवरुद्ध भएको छ।

कम्पनीले जारी गरेको सूचना अनुसार भीषण बाढीले हालै रसुवामा देखिएको विनाशकारी बाढीको झल्को दिने गरी ठूलो क्षति पुर्याएको छ । ‘उक्त प्राकृतिक विपत्तिका कारण हाम्रो विकास हाइड्रोपावरको प्रसारण लाइन समेत प्रभावित भई क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । हालसम्म क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन,’ कम्पनीले भनेको छ । प्रसारण लाइनमा भएको क्षतिको अवस्था, मर्मतसम्भारमा लाग्ने समय तथा आयोजना पुनः सञ्चालन गर्न सकिने समयबारे अहिले नै निश्चित रूपमा भन्न सकिने अवस्था नरहेको कम्पनीले जनाएको छ । यसका कारण आयोजना सञ्चालन अनिश्चितकालका लागि प्रभावित भएको समेत कम्पनीले जनाएको छ ।

‘विशेषगरी सोतीदेखि आर्खेत सम्मको तल्लो भूभागमा रहेको हाम्रो प्रसारण लाइन बुढीगण्डकी नदीको किनारैकिनार फैलिएको हुँदा बाढीबाट थप क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ, कम्पनीले भनेको छ ‘दशैँ नजिकिँदै गरेको अवस्थामा जनशक्ति परिचालन, आवश्यक सामग्रीको व्यवस्थापन, क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने कार्य थप चुनौतीपूर्ण हुन सक्ने देखिएको छ। यद्यपि, क्षतिको विस्तृत मूल्याङ्कन गरी आवश्यक मर्मत तथा पुनः सञ्चालनका लागि यथाशीघ्र पहल गरिनेछ ।’

प्रकाशित मिति : October 11, 2026 at 4:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/